मुस्टाङ भन्सारबाट ६४९ विद्युतीय सवारी जाँचपास, अनुगमन टोलीले दियो क्लिनचिट
nepalpress.com · Fri Jun 19 15:55:01 GMT 2026

काठमाडौँ । मुस्टाङ र सुख्खा भन्सार कार्यालयबाट विद्युतीय सवारी साधनको जाँचपास तथा आयात प्रक्रियासम्बन्धी सार्वजनिक रूपमा उठेका प्रश्नप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भन्सार विभागले अध्ययन तथा अनुगमनपछि सवारी साधनहरू नियमानुसार जाँचपास भएको निष्कर्ष निकालेको जनाएको छ।
अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा तथ्यपरक बुझाइका लागि अध्ययन प्रतिवेदन तयार गरिएको उल्लेख छ ।
विभागका अनुसार २०८३ जेठ १७ गते भन्सार विभागका निर्देशकको नेतृत्वमा तथा जेठ २१ गते अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिसहितको अनुगमन टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो ।
प्रतिवेदनअनुसार मुस्टाङ भन्सार कार्यालयबाट २०८३ जेठ १२ र १३ गते कुल ६४९ वटा विद्युतीय सवारी साधन जाँचपास भएका थिए। उक्त प्रक्रिया नौ वटा घोषणापत्रमार्फत् अघि बढाइएको विभागले जनाएको छ।
अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको अध्ययन तथा विश्लेषणपछि ती सवारी साधनहरू नियमानुसार जाँचपास भएको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यद्यपि, अनुगमनका क्रममा केही कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा नभएको देखिएकाले सम्बन्धित कर्मचारीविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।
विज्ञप्तिमा Laxmi E-mobility Pvt. Ltd., Cimex Inc. Pvt. Ltd., C.G. Motors Pvt. Ltd., Puja International Nepal Pvt. Ltd. तथा Pooja Construction Nepal Pvt. Ltd. लगायत कम्पनीका विद्युतीय सवारी साधनको जाँचपाससम्बन्धी विषय उल्लेख गरिएको छ।
भन्सार विभागले सम्बन्धित पक्षलाई थप जानकारी आवश्यक परे सम्बन्धित भन्सार कार्यालय तथा विभागसँग सम्पर्क गर्न अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)