पोखरा महानगरको बजेट सात अर्ब १५ करोड
baahrakhari.com · Fri Jun 19 16:01:34 GMT 2026

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
चालु वर्षमा आठ अर्ब ३५ करोड १२ लाख बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको हो । आगामी वर्षको बजेट चालुको भन्दा एक अर्ब १९ करोड ८७ लाखले न्यून हो ।
बजेटका स्रोतहरूमा संघीय सरकार सशर्त अनुदानबाट दुई अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान पाँच करोड ५० लाख, समपूरक अनुदान एक करोड ८२ लाख र संघीय सरकार समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, गण्डकी प्रदेश सरकार समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदान र ४० लाख र समानीकरण अनुदान आठ करोड १५ लाख ३६ हजार रुपैयाँ अनुमान गरिएको उपप्रमुख गुरुङले जानकारी दिइन् ।
राजस्व बाँडफाँटबापत संघीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट रु चार करोड नौ लाख ८६ हजार, राजस्व बाँडफाँट स्थानीय सरकारतर्फ रु एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार अनुमान गरिएको छ ।
महागनरको वित्तीय स्थायित्व कायम गर्दै राजस्व दायरा विस्तार, पर्यटकीय राजधानी पोखराको आर्थिक गतिविधि विस्तार गरी रोजगारी अभिवृद्धि र वातावरणमैत्री र दिगो सहरी विकास प्रवर्द्धन गर्नु बजेटका उद्देश्य रहेको उपप्रमुख गुरुङले बताइन् ।
#बजेट
#पोखरा महानगरपालिका
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)