न्वारनको भोज खाएपछि ३० भन्दा बढी बिरामी, विभिन्न अस्पतालमा उपचार जारी
newsofnepal.com · Fri Jun 19 16:56:58 GMT 2026

धादिङ।
धादिङको गजुरी गाउँपालिका–१ बरुवाल टोलमा आयोजित न्वारनको भोज खाएपछि ३० भन्दा बढी व्यक्ति बिरामी परेका छन् । भोज खाएलगत्तै उनीहरूमा बान्ता र झाडापखालाको समस्या देखिएको हो ।
गजुरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तारा भण्डारीका अनुसार शुक्रबार बिहान करिब १० बजेदेखि भोज खान सुरु गरेका व्यक्तिहरूमा अस्वस्थ हुने लक्षण देखिन थालेको थियो । केही समयपछि बिरामीको संख्या बढ्दै गएपछि उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही बिरामीले निजी स्वास्थ्य संस्थामा उपचार गराएका छन् भने दिउँसो करिब १२ बजेतिर २८ देखि ३० जनालाई अस्पताल लगिएको थियो । साथै भोज खाएर घरमै बिरामी परेका थप तीन जनालाई साँझतिर गजुरी गाउँपालिकाको एम्बुलेन्समार्फत निःशुल्क उद्धार गरी उपचारका लागि पठाइएको थियो ।
वडा अध्यक्ष भण्डारीका अनुसार बिरामीमध्ये नौ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी एक जना मनमोहन अस्पताल, एक जना थापाथली प्रसूति गृह तथा एक जना धादिङ अस्पतालमा उपचाररत रहेका छन् । अन्य बिरामीको अवस्था सामान्य रहेको बताइएको छ ।
घटनापछि बिरामी पर्नुको कारणबारे सम्बन्धित निकायले थप जानकारी संकलन तथा अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक रूपमा खाद्य सामग्री वा दूषित पानीका कारण समस्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
यसैबीच जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोया छत्कुलीले वर्षायाम सुरु भएसँगै खानेपानी निर्मलीकरण गरेर प्रयोग गर्न र खानपानमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ । उहाँले दूषित पानी तथा अस्वच्छ खानाका कारण झाडापखाला लगायत संक्रमणजन्य रोग फैलिन सक्ने भएकाले सचेत रहनुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)