‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
ratopati.com · Fri Jun 19 18:30:43 GMT 2026

काठमाडौँ । ‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को विजेता प्रितम पोखरेल र सपना रोका भएका छन् । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा शुक्रबार अबेर राती सम्पन्न प्रतियोगिताको फाइनलमा पोखरेल र रोका विजेता बनेका हुन् । यी दुवैले उपाधिका साथमा नगद दुई लाख पुरस्कार समेत हात परे।
संस्थानले आफ्नो ५४औँ वार्षिकोत्सवको अवसर पारेर पहिलो पटक आयोजना गरेको यो राष्ट्रियस्तरको लोक तथा दोहोरी गीत प्रतियोगितामा मानव रावत र भावना अर्याल दोस्रो भए । उनीहरूले एक लाख नगद पुरस्कार सहित उपाधि हात पारे ।
बुधबार सुरु भई तीन दिनसम्म चलेको प्रतियोगितामा सर्वोकृष्ट सांस्कृतिक भावयुक्त प्रस्तुतीकरण निम बहादुर घर्ती मगर, सर्वोकृष्ट भेषभूषा तथा आभूषण श्याम राना
सर्वोत्कृष्ट गायिका जमुना विश्वकर्मा र सर्वोकृष्ट गायक अनिल सुनार भए । यी सबैले उपाधिका साथमा २५ हजार नगद समेत हात पारे ।
‘नेपालको गौरवशाली लोक संस्कृति तथा लोक कलाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण’ मूल नाराका साथ आयोजना भएको प्रतियोगिताले नेपाली लोक संगीतको क्षेत्रमा नयाँ जागरण ल्याउने विश्वास आयोजक सांस्कृतिक संस्थाले लिएको महाप्रबन्धक किरणबाबु पुनले बताए ।
प्रतियोगिताको मुख्य उद्देश्य लोक गीत र संगीतको संरक्षण गर्नु रहेको थियो । २०१६ सालमा स्थापना भएको ‘राष्ट्रिय नाचघर’लाई समग्र नेपाली संस्कृतिको संस्थागत विकास गर्ने उद्देश्यले सञ्चार संस्थान ऐन, २०२८ अनुसार वि.सं. २०२९ असार ५ गते नाम परिमार्जन गरी ‘सांस्कृतिक संस्थान’को रूपमा पुनर्गठन गरिएको थियो । यसरी ऐतिहासिक रूपमा ६७ वर्ष तथा संगठनात्मक रूपमा ५४ वर्षको गौरवशाली विरासत बोकेको यस संस्थाको इतिहासमा आफैले यस्तो खालको कार्यक्रम आयोजना गरेको रेकर्ड छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)