मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुवाखोला जलविद्युतकाे पानीले माईखोला सडकखण्डमा समस्या

gorkhapatraonline.com · Wed May 27 00:56:05 GMT 2026

पुवाखोला जलविद्युत् आयोजनाका लागि लगिएको पानी चुहिएर भौतिक पूर्वाधारमा ठुलो क्षति भएको छ । यसै कारण बर्सौंदेखि जमिन नै भासिँदा र बग्दा मेची राजमार्ग अन्तर्गत इलामको माईखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्डमा समस्या आएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको नेतृत्वमा सडक डिभिजन कार्यालय इलामका प्रमुख र प्राविधिकसहितको टोलीले आयोजनाका लागि लगिएको ‘पेनस्टक पाइप’ बाट पानी चुहिएको भेट्टाएको हो ।

पेनस्टक पाइपको करिब डेढ किलोमिटर दुरीसम्म निरीक्षण गर्दा दुई सय मिटर लम्बाइमा धेरै चर्किएको पाइएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो । २०७२ सालको भूकम्पपछि त अझ बढी समस्या भएको हो । स्थानीयको भनाइ र गुनासो अनुसार पेनस्टक पाइपभित्र निरीक्षण गरिएको हो । प्रमुख भट्टराईका अनुसार सुरुङको अवस्था यस्तो पाइएपछि हेड ट्याङ्कभित्र पनि बुझ्न त्यहाँ थुप्रिएको माटो बाहिर निकाल्न पानी सुकाइएको छ । त्यहाँ पनि चर्किएको आशङ्का छ ।

सबै प्रयास असफल जस्तै भएपछि विद्युत् आयोजनाका संरचनाको निरीक्षणलाई विकल्पका रूपमा लिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । “जनस्तरबाट धेरै गुनासो आयो, त्यही आधारमा निरीक्षण गरेका हौँ । त्यसबाट समाधान आउन सक्ने सङ्केत देखिएको छ,” प्रजिअ ढकालले भन्नुभयो । यस सडकखण्डमा अध्ययन गर्न भूगर्भविद्को टोली र मर्मत गर्नका लागि धेरै स्रोत परिचालन भएको छ । कुनै पनि अध्ययन टोलीले हाइड्रोपावरका लागि लगिएको पानी चुहिएको भने पत्ता लगाएको थिएन ।

निरीक्षणपछि पुवाखोला जलविद्युत् आयोजना प्रमुखलाई आयोजनाका तर्फबाट तत्काल विज्ञ टोली झिकाएर अध्ययन गर्न र पुनर्निर्माण गर्न भनिएको पनि भट्टराईले जानकारी दिनुभयो ।

यस सडकखण्डमा गत असोज १८ को वर्षापछि पहिरो जाँदा १२ दिनसम्म यातायात बन्द भएको थियो । अहिले पनि माईखोलामाथि निरन्तर पुनर्निर्माणको काम भइरहेको छ । उहाँले भन्नुभयो, “भित्रबाट पाइपमार्फत पानी बाहिर निकाल्ने र खोलाबाटै १० मिटर अग्लो ढलौटको पर्खाल लगाएर माथिको सडक सुचारु गराउने गरी काम भइरहेको छ तर एकैछिनमा पानी पर्ने, खोलामा बाढी आउने र माथिदेखिको बाटो खस्ने समस्याले धेरै गाह्रो भइरहेको छ ।”

वैकल्पिक सडक सञ्चालन भइनसक्दा र मुख्य सडकमा पनि पूर्ण रूपमा यातायात बन्द गरेर काम गर्न नपाउँदा काम गर्नै ढिलाइ भएको छ । अहिले राजदुवालीमा रहेको माईखोलाको पुरानो पुलको पनि मर्मतको काम भइरहेको छ । यो पुलको ६० प्रतिशत मर्मतको काम सकिएको बताइएको छ ।

मेची पहाडलाई जोड्ने यस सडकखण्ड अवरुद्ध हुँदा इलामसहित पाँचथर, ताप्लेजुङसम्म आवतजावत र दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको थियो । अहिले पनि पहिरोमाथि खोलिएको ट्याङ्कमा यातायात सञ्चालन हुँदै आएको छ ।

इलाम सदरमुकाम र माईजोगमाई गाउँपालिका तथा सन्दकपुर गाउँपालिकामा पानी पर्नासाथ चिन्ता सुरु हुने माईखोला राजदुवाली क्षेत्रमा तत्काल मर्मत हुँदै गरे पनि यसको दीर्घकालीन समाधान भने निकै कठिन छ । “पहिरोमाथिको ट्याङ्कीको कति भर पर्न सकिन्छ र ? यो वर्ष पनि मेची राजमार्ग र वैकल्पिक सडकको अवस्था पुरानै भएकाले आउँदो वर्षामा मेची पहाडका लागि थप सङ्कट हुने निश्चित छ,” जिप तथा ट्याक्सी यातायात प्रालिका अध्यक्ष गृष्म सुब्बा भन्नुहुन्छ, “वैकल्पिक सडकमा लगाइने बेलिब्रिजको काम कहिले सकिएला, केचना–कञ्चनजङ्घा सडकको काम पनि अत्यन्तै सुस्त छ, तिल्केनी–सिमल गोलाइ सडकमा ठुला सवारी सञ्चालन हुँदैन ।” मेची राजमार्गको माईखोला राजदुवालीको समस्या ज्युँकात्युँ रहँदा विकल्पमा राखिएका सडकमा पनि ठुलो प्रगति छैन । अहिले मेची राजमार्गको तिल्केनी–सिमल गोलाइमा पर्ने जोगमाई खोला र केचना–कञ्चनजङ्घामा पर्ने माईखोला बेलासे तथा पुुवाखोलामा बेलिब्रिजका लागि जगको काम भइरहेको इलामका सडक डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिनुुभयो । यी तीन वटा बेलिब्रिज जोड्ने प्राविधिकको टोली भारतबाट नेपाल हिँडिसकेको र केही दिनमा जडान सुुरु हुने उहाँ बताउनुुहुन्छ ।

केचना–कञ्चनजङ्घा सडकको भन्ज्याङतर्फको सडकमा भने ठेकेदारले अति नै सुस्त गतिमा काम गरिरहेको छ । वर्षाअगावै सक्नुपर्नेमा नसकिए ठेक्का तोड्ने अवस्था आउने प्रमुख भट्टराईको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)