चौथोपटक विश्वकप खेल्दै गरेका कोरियाका कप्तान सोन भन्छन्- ‘यो मेरो लागिअन्तिम पनि हुन सक्छ’
kendrabindu.com · Wed May 27 01:27:39 GMT 2026

काठमाडौं । दक्षिण कोरियाका कप्तान सोन ह्यु मिगंले फिफा विश्वकप २०२६ नै आफ्नो अन्तिम विश्वकप हुनसक्ने बताएका छन् । सोन अहिले ३३ वर्षका छन् । उनी यस वर्ष टिममा समेटिएका दुईमध्येका एक भेट्रान खेलाडी हुन् ।
यस वर्ष मुख्य प्रशिक्षक होंग म्युंग्बोले घोषणा गरेको २६ सदस्यीय टोलीमा सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप खेलेका उनी र गोलकिपर सकम सेउगंयु गरी दुई खेलाडी मात्रै छन् । सोनले सो वर्ष समूह चरणमा रुसविरुद्धको खेल खेल्दै विश्वकपमा डेब्यू गरेका थिए ।
मंगलबार फिफाले आफ्नो आधिकारिक वेबसाइटमा जारी गरेको अन्तर्वार्ता सोनले यस्तो प्रतिक्रिया दिँदै भनेका छन्,“हामीले सन् २०२२ मा प्राप्त गरेको नतिजा निश्चित खेलाडीले प्राप्त गरेको नतिजा होइन । यसमा धेरै जनाको हात छ । कोरियाली समर्थकको एक एक शब्दले टिममा ऊर्जा थपिदिएको छ । टिमले राम्रो नतिजा पाउन एकजुट भएर खेल्नुपर्छ । यो मेरो अन्तिम विश्वकप पनि हुनसक्छ । म सुखद नतिजाको अपेक्षामा छु,” सोनले भने ।
“विश्वकप खेल्नु मेरो बाल्यकाल देखिको सपना हो । मैले सन् १९९८ को विश्वकप हेरेको थिए । तर स्पष्ट रूपमा याद छैन। मैले राम्ररी बुझेको विश्वकप भनेको सन् २००२ को हो,” उनले भने “म फुटबल खेलाडी भएर विश्वकप जस्तो अन्तर्राष्ट्रिय मञ्चमा खेल्छु भन्ने चाहना पहिलेदेखि नै थियो । अब चौथो विश्वकप खेल्दै आफ्नो सपना पूरा गर्न पाउँदा खुसी लागेको छ ।”
“मैले यसलाई कहिले पनि चुनौतीको रूपमा लिइनँ । म सधैँ कोरियाली समर्थकहरूको मुहारमा खुसी ल्याउन सक्छु जस्तो लाग्छ । त्यसैले म धैर्यतापूर्वक खेलेर आफ्नो शतप्रतिशत दिन्छु । यो एक तरिकाले जिम्मेवारी पनि हो । तर, यो मलाई समस्या जस्तो लाग्दैन । यसको सट्टा म आफूलाई निकै भाग्यमानी ठान्दछु,” अन्तर्वार्तामा उनले भनेका छन् ।
कोरिया सधैँ अन्तिम समयसम्म लड्न पछि नहट्ने मनसायका साथ मैदानमा उत्रन्छ । उनी भन्छन्,”म युवावस्थामा हुँदा यो भनाई सधैँ सुन्थे । र, यो कुराले नै मलाई टिममा जोड्न प्रेरित गर्यो । मलाई अहिले पनि यही भावना टिमको लागि सबैभन्दा महत्त्वपूर्ण छ जस्तो लाग्छ । टेक्निकल स्किल र शारीरिक शक्ति अवश्य चाहिन्छ । तर, हामी उच्च लयमा हुँदा अन्तिम समयसम्म पनि संघर्ष गर्नसक्ने क्षमता अति आवश्यक जस्तो लाग्छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
फिफा