इरानलाई ‘पूर्ण आत्मसमर्पण’ गर्न ट्रम्पको चेतावनी, लेबनानमा इजरायली आक्रमणबाट ३१ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Wed May 27 01:33:25 GMT 2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा आत्मसमर्पण गर्न कडा चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट राख्दै राष्ट्रपति ट्रम्पले इरानले आफ्नो हार स्वीकार गरी हतियार बिसाउनुपर्ने बताएका हुन्।
ट्रम्पले लेखेका छन्, ‘यदि इरानले आत्मसमर्पण गर्छ, आफ्नो नौसेना समाप्त भएर समुद्रको फेदमा पुगेको र वायुसेना पनि अब अस्तित्वमा नरहेको कुरा स्वीकार गर्छ भने मात्र पुग्दैन। यदि उसको सम्पूर्ण सेना हतियार छोडेर र हात माथि उठाई, प्रत्येकले "म आत्मसमर्पण गर्छु, म आत्मसमर्पण गर्छु" भन्दै र सेतो झण्डा फहराउँदै तेहरानबाट बाहिर निस्कन्छ भने, र यदि उसको बाँकी रहेको सम्पूर्ण नेतृत्वले आत्मसमर्पणको आवश्यक कागजातमा हस्ताक्षर गरेर महान् संयुक्त राज्य अमेरिकाको विशाल शक्ति र सामर्थ्यसामु आफ्नो हार स्वीकार गर्छ भने पनि मिडियाको रबैया फेरिने छैन।’
उनले अगाडि लेखेका छन्, ‘यति हुँदाहुँदै पनि ओरालो लाग्दै गरेको न्यूयोर्क टाइम्स, द चाइना स्ट्रिट जर्नल (वाल स्ट्रिट जर्नल), भ्रष्ट र अब अप्रासंगिक भइसकेको सीएनएनलगायत नक्कली समाचार फैलाउने मिडियाका अन्य सबै सदस्यहरूले संयुक्त राज्यमाथि इरानले उत्कृष्ट र शानदार विजय हासिल गर्यो भन्दै मुख्य समाचार छाप्नेछन्। सत्य यसको नजिक पनि हुने छैन। डेमोक्र्याट र सञ्चारमाध्यमहरू पूर्ण रूपमा आफ्नो बाटोबाट भड्किएका छन्। तिनीहरू पूर्ण रूपमा पागल भएका छन्।’
उनले इरानी नेतृत्वले आत्मसमर्पणको कागजातमा हस्ताक्षर गरेर अमेरिकाको महान् शक्ति र सामर्थ्यसामु हार स्वीकार गर्नुपर्ने जिकिर गरेका छन्। सोही क्रममा उनले न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नललाई द चाइना स्ट्रिट जर्नल भन्दै र सीएनएन जस्ता अमेरिकी सञ्चारमाध्यमहरूलाई ‘नक्कली समाचार मिडिया’ को संज्ञा दिँदै उनीहरूले इरानको जित भएको भनेर भ्रम फैलाएको भन्दै आलोचना गरेका छन्।
अर्कातर्फ, इरानले अमेरिकाले आफ्ना व्यावसायिक जहाजहरूमा आक्रमण गरेर बारम्बार युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै युद्धविरामको घोषणापछि पनि अमेरिकाले ‘गैरकानूनी र अन्यायपूर्ण’ कार्य जारी राखेको र समुद्री डकैती गरिरहेको दाबी गरेको छ। इरानको दक्षिणी होर्मोज्गान प्रान्त र रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ होर्मुज’ वरपर अमेरिकी आक्रमणका कारण विस्फोटका आवाजहरू सुनिएको र यसले सात हप्तादेखि जारी कमजोर युद्धविरामको घोर उल्लङ्घन गरेको इरानको भनाइ छ।
यसैबिच, इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) ले अमेरिकी आक्रमणको बदला लिने धम्की दिएको छ।
यद्यपि, अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का प्रवक्ता टिमोथी हकिन्सले ती आक्रमणहरू अमेरिकी सेनाको रक्षाका लागि गरिएको ‘आत्मरक्षा आक्रमण’ भएको बताएका छन्। उनले इरानी मिसाइल प्रक्षेपण स्थल र समुद्रमा बारुदी सुरुङ (माइन्स) बिछ्याउन खोज्ने इरानी डुङ्गाहरूलाई लक्षित गरी कारबाही गरिएको दाबी गरे।
कतारमा अमेरिका र इरानबिच स्थायी युद्ध अन्त्यका लागि वार्ता भइरहे पनि इरानको आणविक कार्यक्रम र प्रतिबन्धसम्बन्धी भाषाका कारण सहमति जुट्न सकेको छैन। दुवै देशबिच बढ्दो तनावका बिच राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ।
मध्यपूर्वको अर्को घटनाक्रममा, लेबनानमा इजरायली हवाई तथा स्थल आक्रमण तीव्र भएको छ। मङ्गलवार इजरायलले गरेको भिन्नाभिन्नै हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने र घाइते हुनेहरूमा ठुलो सङ्ख्यामा महिला तथा बालबालिकाहरू रहेका छन्।
गत अप्रिल महिनामा लेबनानमा युद्धविराम लागू भएयताकै यो सबैभन्दा घातक दिन बनेको छ। इजरायली रक्षा बल (आईडीएफ) ले भने दक्षिणी लेबनानमा हिज्बुल्लाहका लडाकु र उनीहरूका सैन्य संरचनाहरूलाई लक्षित गरी आक्रमण जारी राखेको जनाएको छ। इजरायलले स्थल सेना अगाडि बढाउँदै कयौँ सहर र गाउँ खाली गर्न आदेश दिएपछि दक्षिणी लेबनानमा सर्वसाधारणबिच त्रास फैलाएको छ। यता हिज्बुल्लाहले पनि दक्षिणी लेबनानमा तैनाथ इजरायली सेनामाथि ३२ वटा जवाफी आक्रमण गरेको दाबी गरेको छ।
यसैबिच, युद्धका कारण विगत एक महिनादेखि पूर्ण रूपमा इन्टरनेट बन्द (ब्ल्याकआउट) गरिएको इरानमा इन्टरनेट सेवा बिस्तारै सुचारु हुन थालेको छ। इरानका उपराष्ट्रपति मोहम्मद रेजा आरेफले देशमा पूर्ण इन्टरनेट पहुँच पुनर्स्थापित गर्ने दिशामा सरकारले पहिलो कदम चालेको पुष्टि गरेको छ। एजेन्सी
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
डोनाल्ड ट्रम्प
इजरायल