मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

काठमाडौँमा इटालीको ८०औँ गणतन्त्र दिवस मनाइयो

ratopati.com · Wed May 27 01:57:12 GMT 2026

काठमाडौँ । नेपाल र इटालीबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ मंगलबार साँझ काठमाडौँमा इटालीको ८०औँ गणतन्त्र दिवस मनाइएको छ।

नेपालस्थित इटालीको अवैतनिक वाणिज्य दूतावास र नेपाल-इटाली उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ठमेलस्थित होटल 'एलोफ्ट' मा उक्त विशेष समारोहको आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका सह-सचिव गणेश प्रसाद ढकालले सम्बोधन गरेका थिए । उनले नेपाल र इटालीबिच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै आगामी दिनमा जलविद्युत, पर्यटन र पूर्वाधारका क्षेत्रमा सहकार्य बढाउन नेपाल सरकार तयार रहेको बताए ।

त्यसैगरी, नेपालका लागि गैरआवासीय राजदूत एन्टोनियो बार्टोलीले नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै नेपालमा लगानीका प्रचुर सम्भावनाहरू रहेको औँल्याए। उनले दुई देशबिचको कूटनीतिक र आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन इटाली इच्छुक रहेको र पर्यटन तथा सांस्कृतिक आदानप्रदानमा विशेष जोड दिने बताए ।

इटालीको अवैतनिक वाणिज्य दूत प्रतिभा राणा पाण्डेले कार्यक्रमको संयोजन गरेकी थिइन् । समारोहमा कूटनीतिज्ञहरू, उद्योगी तथा व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।

समारोहको मुख्य आकर्षणका रूपमा कलाकारहरूले विशेष सांस्कृतिक प्रस्तुति दिएका थिए। सो अवसरमा सहभागीहरूले इटालीका चर्चित परिकारहरूको स्वादसहित दुई देशको साझा हित र मित्रताको विषयमा छलफल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)