बजेट लेखनमा अहोरात्र अर्थमन्त्री, २०४८ सालको झल्को दिने
barnanmedia.com · Wed May 27 02:10:52 GMT 2026

काठमाडौँ । बजेट आउने दिन नजिकिँदै छ । आगामी आर्थिक वर्ष २०८३/८४ को कस्तो आउँछ भन्ने सर्वत्र चासो छ । बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको पहिलो बजेट भएकाले पनि चासो बढेको हो । बजेट आउने समय नजिकिएसँगै यतिबेला सिंहदरबारस्थित अर्थ मन्त्रालयको माहोल पूर्ण रूपमा बदलिएको छ ।
आर्थिक संकुचन र स्रोतको सीमितताबिच एउटा आशालाग्दो र ऐतिहासिक बजेट ल्याउनुपर्ने ठुलो दबाबमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छन् । यही दबाब र दायित्वलाई महसुस गर्दै अर्थमन्त्री वाग्लेले आफूलाई पूर्ण रूपमा बजेट निर्माणमा केन्द्रित गरेका छन् । हाल करका दर हेरफेर बाहेकको बजेट लेखनको काम करिब–करिब सम्पन्न भइसकेको मन्त्रालय स्रोतको भनाइ छ ।
मन्त्रालयका सहसचिव एवं राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित बजेट मस्यौदा समितिले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम, आयोजना र कार्यक्रमको प्राथमिकता निर्धारणका साथै विनियोजन विधेयकको मस्यौदा तयार बनाइसकेको छ । उक्त मस्यौदालाई अर्थमन्त्री वाग्लेले एक–एक बुदाँलाई हेरे बजेट लेखन गरेका छन् ।
अर्थ मन्त्रालयमा सुनसान तर ‘इन्टेन्स’ माहोल
सामान्यतया सिंहदरबार छिर्ने जोकोहीलाई पनि अर्थ मन्त्रालयको कार्यकक्षसम्म पुग्न खासै सोधखोज हुँदैनथ्यो । तर, चैत महिनाको अन्तिम सातादेखि नै बजेट लेखन सुरु भएसँगै अर्थ मन्त्रालयका ढोकाहरू बन्द छन् । मन्त्रालय प्रवेशमा कडा निगरानी राखिएको छ । अनुमतिबिना सरकारी कर्मचारीले समेत प्रवेश पाउँदैनन् । बजेट सार्वजनिक गर्न अब केही दिन मात्रै बाँकी रहँदा यो कडाइलाई थप चुस्त पारिएको छ ।
बजेट निर्माणमा अर्थमन्त्री डा. वाग्लेको खटाइ र सूक्ष्म अध्ययन गरेका छन् । मन्त्रालय स्रोतका अनुसार उनले दैनिक करिब १६ घण्टा अर्थ मन्त्रालयमै बिताइरहेका छन् । बिहान ७ देखि ८ बजेको बिचमा मन्त्रालय प्रवेश गर्ने मन्त्री वाग्ले राति २ बजेसम्म बजेट लेखनको काममा तल्लीन छन् ।
बाहिरबाट हेर्दा अर्थ मन्त्रालय यतिबेला सुनसान देखिन्छ, तर भित्र भने अहोरात्र काम भइरहेको छ । मन्त्रालयभित्र बजेट लेख्ने छुट्टै विशेष कोठा (बजेट रुम) छ । जहाँ बजेट टोलीले अत्यन्त शान्त र गोप्य रूपमा काम गरिरहेको छ ।
मन्त्री र बजेट लेखनमा संग्लन कर्मचारीहरूको बिहानदेखि रातिको खाना र खाजासमेत मन्त्रालयमै पाक्ने गरेको छ ।
अर्थमन्त्री दैनिक १६ घण्टा मन्त्रालयमा, ह्रस्व–दीर्घसमेत आफैँ केलाउँदै
बजेट निर्माणमा अर्थमन्त्री डा. वाग्लेको खटाइ र सूक्ष्म अध्ययन गरेका छन् । मन्त्रालय स्रोतका अनुसार उनले दैनिक करिब १६ घण्टा अर्थ मन्त्रालयमै बिताइरहेका छन् । बिहान ७ देखि ८ बजेको बिचमा मन्त्रालय प्रवेश गर्ने मन्त्री वाग्ले राति २ बजेसम्म बजेट लेखनको काममा तल्लीन छन् ।
स्रोतका अनुसार अर्थमन्त्रीले बजेट वक्तव्यलाई सामान्य रूपमा सरसर्ती हेर्ने मात्र गरेका छैनन्, उनले समितिले बनाएको मस्यौदालाई अक्षरशः पढेर केलाइरहेका छन् ।
बजेटलाई प्राथमिकतामा राखेरै अर्थमन्त्री वाग्लेले सिंहदरबारभन्दा बाहिरसमेत गएका छैनन् । उनले बजेटकै लागि भनेर विभिन्न देशका विदेश भ्रमणहरू समेत रद्द गरेका छन् ।
उनले काठमाडौं भित्रका कार्यक्रमहरूमा समेत भर्चुअल माध्यमबाट सम्बोधन गर्ने गरेका छन् । अर्थमन्त्री वाग्ले योबिचमा संसद्मा नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न, सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न र संसदीय समितिका अत्यावश्यक बैठकहरूमा मात्रै मन्त्रालय बाहिर निस्कने गरेका छन् ।
बजेटको आकार वृद्धि हुने संकेत
तत्कालीन सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब आकारको बजेट ल्याएको थियो । तर जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनालले अर्धवार्षिक समीक्षामार्फत चालु आर्थिक वर्षको बजेट खर्च अनुमान संशोधन गरेका थिए ।
चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा अर्थमन्त्री खनालले १६ खर्ब ८८ अर्ब रुपैयाँबराबरको बजेट कार्यान्वयन हुने अनुमान गरेका छन् ।
अन्तरिम सरकारले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेको बजेट लगभग ८६ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको थियो ।
अर्थमन्त्री वाग्ले आगामी बजेटलाई सामान्य कर्मकाण्डी दस्ताबेज बनाउने पक्षमा छैनन् । उनले २०४८ साल असार २७ गते तत्कालीन अर्थराज्यमन्त्री महेश आचार्य, त्यसपछि मनोमन अधिकारी, डा.रामशरण महत र बाबुराम भट्टराईले प्रस्तुत गरेको बजेटलाई आफ्नो ‘बेन्चमार्क’ बनाएका छन् ।
राष्ट्रिय योजना आयोगले चालु आवको भन्दा पनि घटाएर आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ । तर चालु आवको भन्दा बजेट वृद्धि हुने स्रोत दाबी गर्छ ।
आकार बढ्नुको पछाडि मुख्यतः लामो समयदेखि रोकिएको सरकारी कर्मचारीहरूको तलब वृद्धि गर्ने तयारी र अर्थतन्त्रलाई चलायमान बनाउन केही ठुला र रुपान्तरणकारी आयोजनाहरूमा लगानी बढाउने नीतिले बजेटको आकार वृद्धि हुने स्रोतको भनाइ छ ।
विगतका रुपान्तरणकारी बजेटलाई अर्थमन्त्रीको ‘बेन्चमार्क’
अर्थमन्त्री वाग्ले आगामी बजेटलाई सामान्य कर्मकाण्डी दस्ताबेज बनाउने पक्षमा छैनन् । उनले २०४८ साल असार २७ गते तत्कालीन अर्थराज्यमन्त्री महेश आचार्य, त्यसपछि मनोमन अधिकारी, डा.रामशरण महत र बाबुराम भट्टराईले प्रस्तुत गरेको बजेटलाई आफ्नो ‘बेन्चमार्क’ बनाएका छन् ।
२६ अर्ब ६४ करोडको २०४८ सालको उक्त बजेटले नेपालमा पहिलोपटक आर्थिक उदारीकरण, खुला बजार अर्थतन्त्र र निजीकरणको ढोका खोलेको थियो ।
बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछिको त्यो बजेटले जसरी नेपाली अर्थतन्त्रको संरचनात्मक परिवर्तन गरेको थियो । डा. वाग्ले त्यस्तै मनोमन अधिकारी, डा.रामशरण महत र बाबुराम भट्टाईले बजेटमा गरेका रूपान्तरणकारी पक्षलाई ‘बेन्चमार्क’ गरेर आगामी बजेट तयारी गरेका छन् । यसरी अर्थमन्त्री वाग्ले दोस्रो चरणको आर्थिक सुधारको झल्को दिने गरी बजेट ल्याउने योजनामा छन् ।
बजेटलाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाउन मन्त्री वाग्लेले निजी क्षेत्र, विज्ञ र पूर्वअर्थमन्त्रीहरूसँग पनि सघन छलफल गरेका छन् ।
गत जेठ ७ गते उनले डा. प्रकाशचन्द्र लोहनी, विष्णु पौडेल, डा. युवराज खतिवडा, जनार्दन शर्मा, वर्षमान पुन, डा. रामेश्वर खनाल, डा. प्रकाशशरण महत र शंकर कोइराला गरी ८ जना पूर्वअर्थमन्त्रीहरूसँग सामूहिक भेटेर सुझाव लिएका थिए
मन्त्री वाग्लेले अनावश्यक र लामा सुझावभन्दा पनि अर्थतन्त्र सुधार र वर्तमान आवश्यकतालाई सम्बोधन गर्न ठोस ‘तीन बुँदे’ सुझाव मात्र माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)