मोरक्कोको जितले समीकरण फेरियो, स्कटल्याण्डलाई इतिहास रच्न अन्तिम खेल कुर्नुपर्ने
ratopati.com · Sat Jun 20 00:03:46 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई १–० ले पराजित गरेपछि अघिल्लो चरण प्रवेशको होड निकै रोमाञ्चक बनेको छ । खेलको दोस्रो मिनेटमै इस्माइल साइबारीले गरेको कीर्तिमानी गोल नै मोरक्कोको जितमा निर्णायक बन्यो ।
यो जितसँगै मोरक्कोले दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थान ओगटेको छ । पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको मोरक्को अब अघिल्लो चरण (राउन्ड अफ ३२) प्रवेशको निकै नजिक पुगेको छ । यदि अर्को खेलमा ब्राजिलले हाइटीलाई पराजित गर्न सकेन भने मोरक्कोको नकआउट यात्रा अझै सहज बन्नेछ ।
Scotland vs Morocco फिफा विश्वकप २०२६
यता, पहिलो खेलमा हाइटीलाई हराएर ३ अंक जोडेको स्कटल्याण्डका लागि भने यो हारले इतिहास रच्ने मौकामा ढिलाइ गरिदिएको छ । यदि आजको खेल जितेको भए स्कटल्याण्ड इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने निश्चित हुन्थ्यो । तर, अहिले ३ अंकमै सीमित रहेको स्कटल्याण्डले अघिल्लो चरणमा पुग्न आफ्नो अन्तिम खेल (ब्राजिल विरुद्ध) कुर्नुपर्ने भएको छ ।
अब सबैको नजर आजै बिहान ६ः१५ बजे हुने ब्राजिल र हाइटीबिचको खेलमा छ । हाल ब्राजिलको १ अंक छ भने हाइटी अंकविहीन छ । यदि ब्राजिलले हाइटीलाई हराएमा उसको पनि ४ अंक हुनेछ र समूहको शीर्ष स्थानका लागि मोरक्कोसँग कडा प्रतिस्पर्धा हुनेछ । स्कटल्याण्डले भने अन्तिम खेलमा ब्राजिललाई हराउन सकेमा मात्र आफ्नो ऐतिहासिक नकआउट यात्रा सुनिश्चित गर्न सक्नेछ ।
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा