साइबारीको कीर्तिमानी गोलमा मरोक्को विजयी, स्कटल्याण्ड १-० ले पराजित
lokaantar.com

फिफा विश्वकप अन्तर्गत समूह 'सी' को रोमाञ्चक खेलमा मरोक्कोले स्कटल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ । बोस्टन स्टेडियममा शनिबार बिहान भएको उक्त खेलमा मरोक्कोका लागि खेलको सुरुवातमै भएको गोल नै निर्णायक सावित भयो ।
खेल सुरु भएको ७१ सेकेन्डमै मरोक्कोका इश्माएल साइबारीले ब्राहिम दियाजको उत्कृष्ट पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यो गोल यस विश्वकपको अहिलेसम्मकै सबैभन्दा छिटो गोल समेत बनेको छ । पहिलो हाफमा मरोक्कोले स्कटल्याण्डमाथि निरन्तर दबाब बनाए पनि थप गोल भने गर्न सकेन ।
दोस्रो हाफमा स्कटल्याण्डले खेलमा फर्कने कडा प्रयास गरेको थियो । बलमाथिको नियन्त्रण र आक्रमणमा स्कटल्याण्ड सुधारिएको देखिए पनि फिनिसिङमा भने उनीहरू चुके । स्कट म्याकटोमिनेले पेनाल्टी क्षेत्रमा पाएका केही सुन्दर अवसरहरू सदुपयोग गर्न सकेनन् भने वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका लिन्डन डिक्सको हेडर पनि पोस्टको नजिकैबाट बाहिरिएको थियो ।
खेलको अन्तिम समयमा मरोक्कोले जवाफी आक्रमण (काउन्टर अट्याक) मार्फत अग्रता दोब्बर बनाउने मौका पाएको थियो, तर चेम्सडिन ताल्बीको प्रहार पोस्टको केही माथिबाट बाहिरियो । स्कटल्याण्डका लागि ज्याक हेन्ड्रीले उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यो जितसँगै मरोक्कोले समूह 'सी' मा महत्त्वपूर्ण ३ अंक जोडेको छ । यही समूहमा ब्राजिल र हाइटी जस्ता टोलीहरू पनि रहेका छन् । पहिलो पटक नकआउट चरणमा पुग्ने लक्ष्य राखेको स्कटल्याण्डलाई अब अघिल्लो चरण प्रवेशका लागि बाँकी खेलहरूमा जित्नैपर्ने दबाब थपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
फिफा