मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आकार लिँदै नवप्रवर्तन मन्त्रालय

gorkhapatraonline.com · Sat Jun 20 00:20:31 GMT 2026

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले जिम्मेवारी समालेपछि बिस्तारै मन्त्रालयले आकार लिन थालेको छ । मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य वज्राचार्यको नेतृत्वमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार भएपछि कर्मचारीदेखि विभाग र महाशाखाको टुङ्गो लाग्ने भएको छ ।

मन्त्री पुनले मन्त्रालयमा कुल १६ जना कर्मचारी मात्रै कार्यरत रहेकाले ओएनएम सकिएपछि मन्त्रालयले पूर्णता पाउने जानकारी दिनुभयो । “सचिवको नेतृत्वमा ओएनएम तयार गर्न जिम्मेवारी दिइएको छ । असार पहिलो साताभित्र प्रतिवेदन बुझाउनुहुने छ । त्यसपछि कति कर्मचारी आवश्यक छ, कति विभाग र महाशाखा चाहिन्छ; सबै विस्तृत रूपमा आउँछ,” उहाँले भन्नुभयो, “नयाँ मन्त्रालय भएकाले सबै खाका तयार भएपछि कामले बिस्तारै गति लिन्छ । प्रशासन र प्राविधिक गरी दुई खालका कर्मचारी बनाएर छरितो टिमबाट काम गर्ने योजना छ । अनावश्यक कर्मचारी राखिँदैन ।” विज्ञान प्रविधि अध्ययन गरेका युवालाई विज्ञ र अनुसन्धानकर्ताका रूपमा राख्ने तयारी रहेको उहाँको भनाइ छ ।

यसअघि भागबन्डा पु¥याउनकै लागि सात पटक मन्त्रालय फुटाउने र जोड्ने कार्य भएको थियो । अब दीर्घकालीन योजना बनाएर परिणाम देखिने गरी काम गर्ने योजना मन्त्री पुनले बनाउनुभएको छ । “मैले योजना बनाएर काम गरिरहेको छु । मन्त्रीपरिषद् बैठक र संसद् बैठकबाहेक अन्यत्र कतै जान्नँ । मन्त्रालयमै खाने सुत्ने गरेको छु,” उहाँले भन्नुभयो, “अब मन्त्रालयका लागि प्रविधि पढाउने कलेजमा सुझाव लिन जाने सोचेको छु ।”

मन्त्री पुनले विज्ञान मन्त्रालय बनाउन आफैँले सुझाव दिएकाले तीन वर्षसम्म काम गरेर अरूलाई छोडेर जाने बताउनुभयो । “मन्त्रीका रूपमा लामै समय बस्ने सोच छैन । मन्त्रालयलाई व्यवस्थित बनाएपछि नयाँ आउने मन्त्रीलाई काम गर्न सहज हुने गरी व्यवस्था गर्दै छु,” उहाँले भन्नुभयो । सरकारले मन्त्रालयका लागि चार अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)