कोनेले विश्वकपका सबै खेल गुमाउने, खुट्टाको सफल शल्यक्रिया
nepalpress.com · Sat Jun 20 00:37:51 GMT 2026

काठमाडौँ । क्यानडाका मिडफिल्डर इस्माइल कोनेको बायाँ खुट्टामा गम्भीर चोट लागेपछि सफल शल्यक्रिया गरिएको छ। चोटका कारण उनी फिफा विश्वकप २०२६ को बाँकी प्रतियोगिताबाट बाहिरिएका छन् ।
क्यानडा सकरले शुक्रबार जारी गरेको विज्ञप्तिमा कोनेको तल्लो खुट्टामा भएको फ्र्याक्चरको सफल शल्यक्रिया गरिएको जनाएको छ ।
उनको टिबिया र फिबुला हड्डीको भाँचिएको भागको भ्यानकुभरमा शल्यक्रिया गरिएको हो । क्यानडा सकरका अनुसार कोने पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको छ, तर उनले विश्वकपका बाँकी खेल गुमाउनेछन् ।
कोने बिहीबार कतारविरुद्धको समूह ‘बी’ अन्तर्गतको खेलको ५१औँ मिनेटमा घाइते भएका थिए । कतारका मिडफिल्डर आसिम मादिबोले ट्याकल गर्ने क्रममा उनको दायाँ खुट्टाले कोनेलाई लडाएका थिए ।
चोट लागेपछि कोने पीडाले छट्पटाइरहेका देखिएका थिए र तत्काल मेडिकल टोली मैदानमा बोलाइएको थियो । केहीबेरपछि उनलाई स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको थियो ।
स्ट्रेचरमा बसिरहेका कोनेले अक्सिजन लगाउँदै समर्थकतर्फ औँठा उठाएर आफू ठीक रहेको संकेत दिएका थिए ।
खेलपछि क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्सले आफूले ‘हड्डी भाँचिएको आवाज सुनेको’ बताएका थिए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मार्सले अस्पतालको अवस्थाबारे जानकारी दिँदै भने, ‘हामी त्यहाँ पुग्दा उनलाई पीडा कम गर्न औषधि दिइसकिएको थियो। उनी शल्यक्रियाको तयारीमा थिए, तर निकै सकारात्मक मनस्थितिमा थिए र आफू पूर्ण रूपमा निको हुनेमा विश्वस्त देखिन्थे ।’
मार्सका अनुसार करिब डेढ घण्टा चलेको शल्यक्रियामा तीन जना विशेषज्ञ शल्यचिकित्सक संलग्न थिए । ‘उनीहरूले टेलिभिजनमा घटना देखेपछि तुरुन्तै अस्पताल पुगेका रहेछन् । कोने अस्पताल पुग्दा चिकित्सकहरू तयारी अवस्थामा थिए । हाम्रो मेडिकल टोलीसँग छलफलपछि शल्यक्रिया गर्ने निर्णय गरियो र सबै कुरा सफलतापूर्वक सम्पन्न भयो,’ उनले भने ।
घटनाको भिडियो समीक्षा गरेपछि रेफ्रीले मादिबोलाई रातो कार्ड देखाएका थिए । त्यो कतारको खेलमा दोस्रो रातो कार्ड थियो, जसका कारण कतारले खेलको बाँकी समय नौ खेलाडीमा सीमित भएर खेलेको थियो । पछि मादिबोले कोनेसँग माफी मागेका थिए ।
कतारलाई ६–० ले पराजित गरेको क्यानडाले अब बुधबार भ्यानकुभरमै स्विट्जरल्यान्डसँग खेल्नेछ । दुवै टोलीले पहिलो दुई खेलबाट समान चार अंक जोडेकाले यो खेलले समूह ‘बी’ को विजेता तय गर्नेछ ।
कोनेको स्थानमा मैदान प्रवेश गरेका नेथन सालिबाले क्यानडाको चौथो गोल गरेका थिए । गोलपछि उनले कोनेको नाम र नम्बर ८ अंकित क्यानडाको जर्सीको प्रतिकृति उठाउँदै चोटग्रस्त टोलीसाथीप्रति समर्थन व्यक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
फिफा