दैनिक बिस लाख किलो घाटा
gorkhapatraonline.com · Sat Jun 20 00:39:02 GMT 2026

चिया निर्यातमा भारतले अवरोध गरेपछि पाँच दिनयता बन्दा भएका चिया उद्योगले कुनै निकास पाएका छैनन् । यसले दैनिक २० लाख किलोभन्दा बढी हरियो पत्ति हुर्किएर किसानलाई घाटा भइरहेको छ । भारतीय टी बोर्डले चिया आयातमा कडाइ गरेपछि भारतीय गोदाममा थन्किएको दुई लाख किलोभन्दा बढी तयारी चियाको नमुना परीक्षणको रिपोर्ट एक महिना पूरा हुँदा पनि प्राप्त नभएको व्यवसायीले बताएका छन् ।
चिया उद्योगी ज्ञानी लिम्बूले भारतीय गोदाममा आफ्नो चिया थन्किएको एक महिना पूरा भएको र अहिलेसम्म ल्याब रिपोर्ट नआएको बताउनुभयो । “राम्रो रिपोर्ट आयो भने त बिक्री भएको चियाको पैसा आउँछ नत्र उतै नस्ट गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “पुनः नेपाल फर्काउन सकिँदैन । फर्काए पनि नेपाल ल्याउँदा ४० प्रतिशत भन्सार तिर्नु पर्छ । पुनः परीक्षणका लागि पनि थप रकम चाहिन्छ ।” उहाँका अनुसार अहिले एउटा नमुना परीक्षणका लागि साढे १३ हजार भारतीय रुपियाँ खर्च हुने गरेको छ ।
चिया पठाउन नसकेपछि इलामका ७९ र झापाका ३० वटा उद्योगहरू बन्द अवस्थामा छन् । गत असार १ गतेदेखि इलामका ५३ चिया उद्योग बन्द भएका थिए । बिहीबारदेखि थप उद्योग बन्द भएका हुन् । भारतीय टी बोर्डले गत वैशाख १८ गतेदेखि स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) लागु गरेको थियो । यो नियम लागु भएपछि नेपाली तयारी चिया भारतको कोलकत्ता र सिलिगुढीका गोदाममा पुगेर थन्किएको छ ।
चिया निकासीमा समस्या आएपछि सरकारको ध्यानाकर्षण गराउँदै आएका चिया व्यवसायीले सरकारले समाधानको प्रयास नगरेको भन्दै चिया उद्योग नै बन्द गरेर सहज निकासीको वातावरण मिलाउन माग गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)