धितोपत्र बोर्डको अध्यक्षमा भट्ट
gorkhapatraonline.com · Sat Jun 20 00:44:35 GMT 2026

दुई महिनापछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ नेतृत्व पाएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले डा. गोपालप्रसाद भट्टलाई अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको हो । यसअघि बोर्डका अध्यक्ष रहेका सन्तोषनारायण श्रेष्ठले वैशाखमा पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । सेवोनका नवनियुक्त अध्यक्ष डा. भट्टले ‘स्टक मार्केट इफिसियन्सी इन नेपाल’ विषयमा विद्यावारिधी गर्नुभएको छ । उहाँ राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशकसमेत हुनुहुन्छ । केन्द्रीय बैङ्कमा ३० वर्ष सेवा गरेर उहाँ सेवानिवृत्त हुनुभएको थियो ।
कैलाली हसनपुरका भट्टले व्यवस्थापन सङ्कायमा प्राध्यापन गर्नुका साथै नेपाल एसबिआई बैङ्क र सानिमा क्यापिटलमा स्वतन्त्र सञ्चालक भएर पनि काम गर्नुभएको थियो । सेबोनको अध्यक्षका लागि आह्वान भएको दरखास्तमा ४७ जनाले आवेदन दिएका थिए । आवेदकमध्येबाट सिफारिस समितिले तीन जनाको नाम सर्टलिस्ट गरेको थियो । भट्टसँगै विनयदेव आचार्य र मुकुन्दकुमार क्षेत्री पनि सिफारिसमा पर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)