मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका-इरान वार्ता जोगाउन इजरायल र हिजबुल्लाहबीच युद्धविराम नवीकरण

annapurnapost.com · Sat Jun 20 00:47:36 GMT 2026

काठमाडौं : लेबनानमा चर्किएको भीषण सैन्य भिडन्तका कारण संकटमा परेको अमेरिका-इरान शान्ति वार्तालाई बचाउन इजरायल र हिजबुल्लाह युद्धविराम नवीकरण गर्न सहमत भएका छन्। दुवै पक्षले युद्धविरामको पालना गर्ने प्रतिबद्धता जनाए पनि एकअर्कालाई उल्लंघन नगर्न चेतावनी समेत दिएका छन्।

लेबनानी अधिकारीहरूका अनुसार युद्धविराम नवीकरण हुनुअघि शुक्रबार भएको इजरायली हवाई आक्रमण चालू द्वन्द्वकै दोस्रो सबैभन्दा घातक र विनाशकारी रहेको थियो।

लेबनानमा इजरायलले चालेको सैन्य कदम र त्यसले अमेरिका-इरान सम्झौतामा पारेको नकारात्मक असरका कारण वासिङ्टन र तेल अभिभबीच केही दिनयता तनाव बढेको थियो। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उच्च प्रशंसा गर्दै सम्बन्ध सुधार्ने संकेत गर्नुभएको छ।

सुरुवाती ढिलाइपछि वासिङ्टन र तेहरान (इरान) प्राविधिक वार्तालाई पुनः गति दिन लागिपरेका छन्। यसै सिलसिलामा अमेरिकी विशेष दूत स्टिभ विटकफ स्विट्जरल्याण्डतर्फ प्रस्थान गरिसकेका छन् भने जारेड कुश्नर पनि उक्त वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ।

अन्तिम शान्ति सम्झौतामा पुग्नका लागि निर्धारण गरिएको ६० दिने समयसीमा तीव्र रूपमा घर्किँदै गएको छ। समय घर्किँदै जाँदा इरानले मध्यस्थकर्ताहरूसँग मिलेर वार्तालाई थप व्यवस्थित र परिणाममुखी बनाउन कूटनीतिक कसरत तीव्र पारेको छ। यो युद्धविरामले संकटमा पर्न लागेको मध्यपूर्वको शान्ति प्रक्रियालाई केही राहत दिने विज्ञहरूको अनुमान छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)