मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप २०२६ : कोलम्बिया उत्साहित

annapurnapost.com · Wed May 27 05:28:39 GMT 2026

लन्डन : चोटका कारण लामो समयदेखि प्रभावित बन्दै आएका जेम्स रोड्रिगेज कोलम्बियाको विश्वकप टोलीमा फर्किएका छन्। कोलम्बियाले मंगलबार घोषणा गरेको २६ सदस्यीय टोलीको नेतृत्व रोड्रिगेजले गर्ने छन्।

३४ वर्षीय मिडफिल्डर रोड्रिगेजले स्वास्थ्य समस्याका कारण यस सिजन धेरै खेल खेल्नै सकेनन्। गत मार्च २९ मा फ्रान्ससँगको मैत्रीपूर्ण खेलका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको थियो। उनले तीनसम्म अस्पतालको सघन कक्षमा बिताएका थिए। त्यसबेला सामाजिक सञ्जालमा उनका बारेमा अफवाह फैलिएको थियो। उनी ¥याबडोमायोलिसिसजस्तो प्राणघातक रोगको सिकार भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको थियो।

अस्पतालबाट डिस्चार्ज भएपछि पनि उनले क्लबबाट समेत राम्रोसँग खेल्न सकेका थिएनन्। रियल म्याड्रिड बायर्न म्युनिख र एभर्टनका पूर्वखेलाडी रोड्रिगेज अमेरिकी मेजर लिग सकर क्लब मिनेसोटा युनाइटेडमा आबद्ध छन्। उनले क्लबले खेलेका १५ खेलमध्ये जम्मा दुई खेलमा सुरुवाती लाइनअपमा स्थान बनाएका थिए। उनले यस सिजन क्लबबाट जम्मा एक सय ९४ मिनेट मैदानमा बिताएका थिए।

रोड्रिगेजसँगै बायर्न म्युनिखका विंगर लुइस डियाजलाई पनि समावेश गरिएको छ। यस्तै क्रिस्टल प्यालेसका डानियल मुनोज, जेफरसन लेर्मा र आर्सनलका पूर्वअनुभवी गोलरक्षक डेभिड ओस्पिनालाई पनि मुख्य प्रशिक्षक नेस्टर लोरेन्जोले टोलीमा समेटेका छन्। यस्तै ३९ वर्षीय लुइस स्वारेजलाई पनि प्रशिक्षक नेस्टरले टोलीमा समावेश गरेका छन्।

कोलम्बियाले सन् २०१८ पछि पहिलो पटक विश्वकप खेल्न लागेको हो। सन् २०२२ को कतार विश्वकपमा कोलम्बिया छनोट हुन असफल भएको थियो। आठ वर्षपछि विश्वकप खेल्न लागेको कोलम्बिया रोड्रिगेजको पुनरागमनले निकै उत्साहित बनेको छ। सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा रोड्रिगेजले गोल्डेन बुट जितेका थिए। उनले प्रतियोगिता अवधिभर ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए।

विश्वकपमा प्रतिस्पर्धा गर्नुअघि कोलम्बियाले जुन १ मा कोस्टारिका र जुन ७ मा जोर्डनसँग मैत्रीपूर्ण खेल खेल्नेछ। टोली घोषणासँगै कोलम्बियाको टोली विश्वकपको तयारीमा जुटिसकेको छ। टोलीले आफ्नै देशमा तयारी गर्नेछ। सातौं पटक विश्वकप खेल्न लागेको कोलम्बिया समूह ‘के’ मा छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय