गाडी नआई कागजको आधारमा रसुवागढी नाकाबाट जाँचपास भएको भन्सार विभागको ठहर
kendrabindu.com · Sat Jun 20 01:22:59 GMT 2026

काठमाडौं । बजेटको मुखमा मुस्ताङको कोरला नाकाबाट विद्युतीय सवारीसाधन नियमसंगत रूपमै भित्र्याइएको पाइएको छ । विद्युतीय सवारीसाधनको जाँचपास तथा आयातको सन्दर्भमा भन्सार विभागले गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा नियमअनुसार भन्सार जाँचपास भएर गाडी भित्रिएको जनाइएको छ ।
विभागका निर्देशक सुरेन्द्र पाण्डेयको नेतृत्वमा १७ जेठमा रसुवाबाट र निर्देशक भूपालराज शाक्यको नेतृत्वमा २१ जेठमा मुस्ताङको कोरला नाकाबाट भित्रिएका सवारीसाधनका सन्दर्भमा टोली खटाइएको थियो । ‘भन्सार विभागका निर्देशकको नेतृत्वमा अर्थ मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत प्रतिनिधिसहितको अनुगमन टोलीले विस्तृृत अध्ययन गरी भन्सार विभागसमक्ष प्रतिवेदन पेस गरेको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीको प्रतिवेदनअनुसार उक्त कार्यालयबाट १२ र १३ जेठमा ६ सय ४९ वटा विद्युतीय सवारीले ९ वटा प्रज्ञापनपत्रमार्फत जाँचपास प्रक्रिया अघि बढाएको पाइयो ।’
छानबिन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा उल्लिखित सबै विद्युतीय सवारीसाधन १४ जेठभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्ममा भन्सार कार्यालयबाट नियमअनुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ ।
रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी र पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले विभागमा बुझाएको प्रतिवेदनमा औंल्याएको छ । ‘अनुगमन टोलीले प्रज्ञापनपत्र, कार्यालयको अभिलेखलगायतको विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारीसाधन भन्सारमा भौतिक रूपमा आइनपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला पारेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनी प्रक्रिया पूरा नगरेको देखिएकाले अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको छ ।’
उक्त कार्यमा संलग्न विद्युतीय सवारीसाधन पैठारीकर्ता लक्ष्मी ई–मोबिलिटी प्राइभेट लिमिटेड काठमाडौं, साइमेक्स इन्क प्राइभेट लिमिटेड काठमाडौं, सीजी मोटर्स प्राइभेट लिमिटेड, पूजा इन्टरनेसनल नेपाल प्राइभेट लिमिटेड, पूजा कन्स्ट्रक्सन नेपाल प्राइभेट लिमिटेड तथा एजेन्ट नम्बर २ सय ४८, ८ सय ३३ र ८ सय ७८ लगायत भन्सार जाँचपास प्रतिनिधिलाई भन्सार कानुनबमोजिम कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाइएको विज्ञप्तिमा जनाइएको छ ।
कोरला नाकाबाट ल्याइएका ६ सय ४९ वटा बीवाईडी गाडीलाई पर्वतको कुश्मा, कास्कीको हेम्जालगायत स्थानमा सशस्त्र प्रहरीले २१ जेठमा नियन्त्रणमा लिएको थियो । नियमसंगत रूपमा जाँचपास गरेर भित्रिएको भन्दै सरकारले छाड्न निर्देशन दिएपछि ३१ जेठबाट छाडिदिएपछि व्यवसायीले बुझेर लगेका थिए । रसुवा भन्सार कार्यालयमा नियन्त्रणमा लिइएका सवारी भने अझै छाडिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
भन्सार विभाग