मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेक्सिको नकआउटमा पुग्ने पहिलो टिम

gorkhapatraonline.com · Sat Jun 20 01:23:32 GMT 2026

सहआयोजक मेक्सिको शुक्रबार दक्षिण कोरियालाई १–० ले हराएर विश्वकप फुटबल–२०२६ को नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । मेक्सिको दुई खेलपछि नै समूह ‘ए’ विजेता बन्ने पक्का भएको छ । उसले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पनि पराजित गरेको थियो । पछिल्लो विश्वकपमा मेक्सिकोले समूह चरण पार गर्न सकेको थिएन । कतार विश्वकपअघिका सात संस्करणमा मेक्सिकोले समूह चरण पार गरे पनि प्रिक्वाटरफाइनलमा निराशा बेहोरेको थियो । सन् १९७० र १९८६ मा क्वाटरफाइनल खेल्दा मेक्सिकोले नै विश्वकपको आयोजना गरेको थियो । मेक्सिको यसपालि घरेलु मैदानमा लामो यात्रा तय गर्ने दाउमा छ ।

खेलको ५० औँ मिनेटमा दक्षिण कोरियाका डिफेन्डर र गोलरक्षकको गल्तीमा लुइस रोमोले निर्णायक गोल गर्नुभएको हो । गोलरक्षक किम सियुङ–ग्यु र डिफेन्डर लिग गि–ह्युक ठोकिएपछि डिबक्सभित्र बल प्राप्त गरेका रोमोले सहज गोल गर्नुभयो । खेलको ८७ औँ मिनेटमा दक्षिण कोरिया बराबरी गोलको निकै नजिक पुगेको थियो । चो गुइ–सुङले गोलपोस्ट नजिकबाट गरेको हेडर र त्यसपछि रिबाउन्डमा याङ ह्युन जुनले गरेको प्रहारमा गोलरक्षक राउल रान्गेलले ‘डबल सेभ’ गरेपछि दक्षिण कोरियाले बराबरी गर्न सकेन ।

समूह ‘ए’ मै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले चेक गणतन्त्रलाई १–१ ले बराबरीमा रोकेपछि मेक्सिको समूह विजेता बन्ने पक्का भएको हो । मेक्सिकोको दुई खेलबाट छ अङ्क भएको छ । समान दुई खेलबाट दक्षिण कोरिया तीन तथा दक्षिण अफ्रिका र चेकको एक÷एक अङ्क छ । दक्षिण अफ्रिका र चेकको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । यस समूहको समापन बुधबार मेक्सिको र चेक तथा दक्षिण कोरिया र दक्षिण अफ्रिकाबिचको खेलसँगै हुने छ ।

माइकल साडिलेकले खेलको छैटौँ मिनेटमा गरेको गोलबाट चेकले अग्रता बनाएको थियो । अलेक्ज्यान्दर सोकाको पासमा गोलपोस्टनजिक रहेका साडिलेकले ‘स्लाइड’ गर्दै बल गोलपोस्टमा छिराउनुभएको हो । यद्यपि दोस्रो हाफमा टेबोहो मोकोएनाको पेनाल्टी गोलले दक्षिण अफ्रिकाले खेल बराबर ग¥यो । निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा दक्षिण अफ्रिकाले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । पेनाल्टीमा गोल गर्ने मिडफिल्डर मोमोएनाले समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध भने खेल्न नपाउने भएका छन् । उहाँले लगातार दोस्रो खेलमा पहेँलो कार्ड पाउनुभएको थियो ।

दुई स्थानापन्न खेलाडी जोहान मान्जाम्बी र रुवेन भर्गासको गोलको सहयोगमा समूह ‘बी’ अन्तर्गत भएको खेलमा स्विट्जरल्यान्डले १० खेलाडीमा सीमित बोस्निया–हर्जगोभिनालाई ४–१ को फराकिलो अन्तरले पराजित भएको छ । पहिलो खेलमा बराबरीमा खेलेको स्विट्जरल्यान्डको यस जितसँगै नकआउट चरणमा पुग्ने सम्भावना बलियो भएको छ । खेलको ७२ औँ मिनेटमा प्रशिक्षक मुराट याकिनले मान्जाम्बी र भर्गास मैदानमा छिर्नुभएको थियो । यी दुई मैदान छिर्नुअघि स्कोर गोलरहित थियो र यी दुवै फरवार्डले चाँडै नै छाप छोडेपछि स्विट्जरल्यान्डले जित प्राप्त ग¥यो ।

खेलको ७४ औँ मिनेटमै मन्जाम्बीले आफ्नो पहिलो टचमै भली प्रहारमा गोल गरेपछि मात्र स्विट्जरल्यान्डले अग्रता बनाएको हो । त्यसपछि ९० औँ मिनेटमा मन्जाम्बीले अर्को गोल गर्नुभयो । यसै गरी भर्गासले खेलको ८४ औँ मिनेटमै ब्रिल इम्बोलाको पासमा गोल गर्नुभएको थियो । इन्जुरी समयमा ग्रानिट जाकाले पनि पेनाल्टीमा गोल गर्नुभयो । खेलको ८० औँ मिनेटमै बोस्नियाका तारिक मुहारेमोभिचले रातो कार्ड पाएपछि पनि स्विट्जरल्यान्डलाई खेल सहज बनेको थियो  । स्विट्जरल्यान्डका ब्रिल इम्बोलो गोलतर्फ अग्रसर भइरहेका बेला फाउल गरेपछि मुहारेमोभिच कारबाहीमा परेको हो । बोस्नियाका लागि ९३ औँ मिनेटमा इर्मिन मामिकले एक गोल फर्काउनुभएको थियो । एपी

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय