मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इटालीकी प्रधानमन्त्रीबारे ट्रम्पको विवादित बयान :  मसँग तस्बिर खिचाउन बिन्ती गरिन्

lokaantar.com

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक विवादास्पद बयानप्रति आपत्ति जनाएकी छन् । उनले ट्रम्पको अभिव्यक्तिलाई पूर्णतः मनगढन्ते संज्ञा दिइन् ।

फ्रान्समा सम्पन्न जी-७ शिखर सम्मेलनका क्रममा मेलोनीले आफूसँग तस्बिर खिचाउन 'बिन्ती' गरेको भनी ट्रम्पले दिएको अभिव्यक्तिपछि दुई नेताबीच सार्वजनिक रूपमै वाकयुद्ध सुरु भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इटालीको 'ला सेभेन' टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा मेलोनीले आफूसँग तस्बिर खिच्न अनुनय-विनय गरेको र आफूलाई दया लागेर तस्बिर खिचेको दाबी गरेका थिए।

ट्रम्पको यस्तो टिप्पणी सार्वजनिक भएलगत्तै मेलोनीले आफ्नो इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै ट्रम्पको व्यवहारप्रति आश्चर्य व्यक्त गरेकी छन्। उनले भनिन्, 'मलाई अचम्म लागेको छ कि किन अमेरिकी राष्ट्रपति आफ्ना मित्रराष्ट्रहरूप्रति यस्तो व्यवहार गर्छन्। एउटा कुरा उनले सम्झनुपर्छ: न त म, न त इटालीले कहिल्यै भिख माग्छ।'

विगतमा निकै घनिष्ठ मानिएको ट्रम्प र मेलोनीको सम्बन्ध पछिल्लो समय इरानसँगको युद्ध र अमेरिकी विदेश नीतिका कारण बिग्रिएको विश्लेषण गरिएको छ। यसअघि ट्रम्पले इसाई धर्मगुरु पोप लियो चौधौँको आलोचना गर्दा पनि मेलोनीले त्यसलाई 'अस्वीकार्य' भन्दै प्रतिवाद गरेकी थिइन् ।

मेलोनीको यस अडानलाई इटालीभित्र सत्तापक्ष र विपक्षी दुवैले समर्थन गरेका छन्। इटालीका राष्ट्रपति सर्जियो माटारेलाले मेलोनीलाई फोन गरेर आफ्नो समर्थन व्यक्त गरेका छन् भने विपक्षी दलका नेताहरूले पनि अमेरिकी राष्ट्रपतिको 'घमण्डी शैली' को विरोध गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय