पहिलो हाफमै ब्राजिलको शानदार अग्रता
lokaantar.com

पाँच पटकको विश्वविजेता ब्राजिलले फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो जितको खोजीमा उत्कृष्ट प्रदर्शन गर्दै हाइटीविरुद्ध पहिलो हाफमै ३-० को सानदार र सुविधाजनक अग्रता बनाएको छ। फिलाडेल्फिया स्टेडियममा जारी समूह 'सी' को खेलमा ब्राजिल पूर्ण रूपमा हाबी देखिएको छ।
खेलको शुरूदेखि नै दबाब बनाएको ब्राजिलका लागि म्यान्चेस्टर युनाइटेडका फरवार्ड म्याथियस कुन्हा नायक साबित भए। खेलको २३औँ मिनेटमा ब्राजिलले खेलमा पहिलो अग्रता लियो।
ब्राजिलले बललाई अगाडि बढाउँदा गोल क्षेत्रमा हाइटीका डिफेन्डरहरू एकापसमा ठोक्किन पुगेका थिए । त्यही भिडभाडमा कुन्हाले प्रहार गरेको बल हाइटीका डिफेन्डर डेलक्रोइक्सलाई लाग्दै पुनः कुन्हाकै शरीरमा ठोक्किएर गोलमा परिणत भएको थियो । यो केही भाग्यशाली गोल भए पनि ब्राजिल अग्रताको हकदार थियो।
त्यसपछि खेलको ३६औँ मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। भिनिसियस जुनियरले आफ्नो देब्रेतर्फ रहेका कुन्हालाई मिलाइदिएको पासलाई नियन्त्रणमा लिँदै उनले पोस्टको माथिल्लो देब्रे कुनामा शक्तिशाली प्रहार गर्दै उत्कृष्ट गोल गरे र आफ्नो 'ब्रेस' पूरा गरे।
खेलको पहिलो हाफको इन्जुरी समय (४५+३ मिनेट) मा ब्राजिलका स्टार विङ्गर भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिल ३-० ले अगाडि बढ्यो। लुकास पाक्वेटाले हाइटीको डिफेन्स लाइनको माथिबाट मिलाइदिएको उत्कृष्ट बललाई नियन्त्रणमा लिँदै रियल म्याड्रिडका फरवार्ड भिनिसियस पेनाल्टी बक्सतर्फ अघि बढे र गोलकिपरलाई छलाउँदै बललाई शान्तपूर्वक जाली चुमाए। यो यस विश्वकपमा भिनिसियसको व्यक्तिगत दोस्रो गोल हो।
पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिँदा निराश भएका ब्राजिलियन प्रशंसकहरू यो सानदार प्रदर्शनपछि रंगशालामा पुनः खुसीयाली मनाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
फिफा