मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आस्थाको धरोहर पौराई

gorkhapatraonline.com · Sat Jun 20 01:56:21 GMT 2026

मधेश प्रदेशको रौतहट जिल्लास्थित चन्द्रपुर नगरपालिका–१ मा पर्ने पौराई ब्रह्मस्थानप्रति आस्था र विश्वास बढ्दो छ । मधेश प्रदेश र भारतसँग सिमाना जोडिएका क्षेत्रका भक्तजन यस स्थलमा आई भाकल गर्छन् । भाकल पूरा भएपछि बलि (चडौना) दिने प्रचलन परापूर्वकालदेखि चलिआएको छ । विशेष गरेर सोमबार, बुधबार र शुक्रबारलाई विशेष दिनका रूपमा लिइन्छ । यस दिन भाकलको बलि पनि बढी चढाउने परम्परा छ । भाकल माग्ने पूरा भएपछि कतिले पञ्चबलि चढाउँछन् भने सामान्यतः बोका र परेवा चढाउने चलन छ ।

किंवदन्ती अनुसार विसं १९३०–३२ तिर (अनुमानित) तराईतिर सिकार खेल्ने क्रममा जङ्गबहादुर पौराई पुगेका थिए । जङ्गलमा सिकार खेल्दै जाँदा उनका सबै सेना हराए । सेना हराएपछि थकित भएर जङ्गलमा एक्लै बास बस्ने क्रममा राति सपनामा देवी आइनर । उनले म देवी हुँ, यहाँ मेरो स्थापना गरिदिनू, भोलि तिम्रा सबै सेना आउने छन् भनी दर्शन दिइन् । नभन्दै भोलिपल्ट जङ्गबहादुरका सबै सेना आए । त्यसपछि जङ्गबहादुर खुसी भएर पौराई ब्रह्मस्थान (देवी) स्थापना गरे । उनले त्यहाँ राजधामी नियुक्त गरी तोकिए अनुसार पूजा गर्न लगाएको किंवदन्ती छ । हालसम्म पनि राजधामीको परम्परा चलिआएको छ ।

सुरुमा यहाँ डिल्लीबहादुर कुसुवार राजधामी थिए । केही समय घर्तीमगरले पनि राजधामीको भूमिका निर्वाह गरे । हाल तीन पुस्तादेखि राजधामी हुँदै आएकाका नाति रामबहादुर कुसुवार राजधामी हुनुहुन्छ । जङ्गबहादुरले हात्ती बाँध्ने ठाउँलाई हात्तीलेट भनिन्थ्यो । उनले नुहाएको झरना जङ्गे झरना र हात्तीलेट अहिले पनि चर्चित छ । समय समयमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि त्यहाँ पुग्ने गरेका छन् ।

जङ्गबहादुरको किंवदन्तीसँग जोडिएको पौराई ब्रह्मस्थानको आफ्नै किसिमको महत्व र मौलिकता छ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु रहेको यस स्थानमा सबैले श्रद्धाका साथ पूजापाठ गर्छन् । बिदाको दिन त्यहाँ भक्तजनको ठुलो भिड लाग्छ । विवाह, व्रतबन्ध, पास्नी, मुण्डन, (चूडाकर्म) लगायतका शुभकार्य पनि यस स्थानमा गरिन्छ । नयाँ वाहन खरिदपछि पूजा गराउने, लामो यात्रा गरेपछि पनि ब्रह्मस्थानमा गएर मङ्गल कामना गर्ने र विदेश यात्रा गर्दा पनि मन्दिरको दर्शन गरेर जाँदा शुभ हुने जनविश्वास छ । जङ्गबहादुरको मृत्यु सर्लाहीको पत्थरघट्टामा भएको इतिहासकारले बताएका छन् । उनी सिकार खेल्ने क्रममा त्यस स्थानमा पुग्नु संयोग मात्रै थिएन भनिन्छ । जे होस्, जङ्गबहादुरको देनबाट स्थापना भएको पौराई ब्रह्मस्थान नेपाली र भारतीय (विशेष गरी विहार क्षेत्रका) का लागि महत्वपूर्ण छ ।

यस मन्दिरमा वर्षमा दुई पटक वैशाख पूर्णिमा र कार्तिक पूर्णिमामा राजधामीद्वारा वही ठेल्ने (तान्त्रिक) पूजा गरिन्छ । यो पूजाको समयमा तीन दिनसम्म गाउँभरि वारना गरिन्छ । यस वारनामा खनजोत नगर्ने, जुम्रा नहेर्ने, शुभ कार्यलगायत नयाँ कार्यको थालनी नगर्ने प्रचलन छ । यस्तो पूजा मन्दिरमा ११ बजे गरिन्छ भने ४ बजे धूपबत्ती गरिन्छ । धूपबत्ती गरिसकेपछि मात्रै वारना खुल्छ । वारनाको अवज्ञा गर्दा गाईवस्तु हराएको; गोरु, गाई बाख्रा बाघले खाएको जस्ता घटना भएको स्थानीय बासिन्दा बताउँछन् । आजका दिनसम्म पनि वही ठेल्ने परम्परा कायम छ । मिश्रित जातिको बसोबास रहेको यस गाउँमा सबै धर्म र परम्परा मान्ने व्यक्तिले त्यसलाई पूर्ण रूपमा मान्दै आएका छन् । बाघ र हात्तीले पछिसम्म पनि देवीको मन्दिरमा राति परिक्रमा गर्ने गरेको पुराना स्थानीय बताउँछन् ।

आस्था र विश्वासकी देवीका रूपमा परिचित ब्रह्मस्थान जोरपिपलको गाछीमुनि राजदेवी माताब्रह्म बाबा स्थापना गरिएको छ । आआफ्ना आस्था अनुसार पूजा र धूपबत्ती गरिए पनि बलिपूजा भने सबैकोे भाकल अनुसार गरिन्छ । यस देवीको पवित्र मन्दिरमा नवरात्रिमा नौ दिनसम्म विशेष पूजा र धूपबत्ती गरी बलिसमेत दिइन्छ । बलि दिन नचाहनेले नरिवल चढाउने र परेवा उडाएरसमेत देवीको पूजा गर्छन् । आआफ्ना आस्था र श्रद्धा अनुसार नै देवीको पूजाआजा गरिन्छ । यस मन्दिरका राजधामी (राजाबाट नियुक्त गरिएको) बाट स्याहार संरक्षण हँुदै आएको १५० वर्षभन्दा बढी समयदेखि पूजापाठ गर्दै संरक्षण हुनु आफैँमा महत्वपूर्ण कार्य हो । समय र कालखण्ड अनुसार विभिन्न थरका व्यक्तिविशेष गरेर कुसुवार, घर्ती, मगर, ब्राह्मण, क्षेत्रीहरूबाट यसको संरक्षण हुँदै आयो भने कुनै समय यस मन्दिरको संरक्षणमा नरबहादुर कार्की (सानो मान्छेको नामले परिचित) भन्ने व्यक्तिको ठुलो योगदान रहेको पाइन्छ । सिन्धुली, धनुषा हुँदै बसाइँ सर्ने क्रममा पौराईको बागमतीमा (तत्कालीन गोपालकुटी नामले परिचित) बसोबास गरेको सानो मान्छेले यस स्थानको संरक्षण, संवर्धन र उत्थान योगदान दिई आफ्नो मृत्युपर्यन्त पूजापाठ र प्रचारप्रसारमा योगदान पु¥याएको सर्वविदितै छ ।

यति लामो इतिहास बोकेको मधेश प्रदेशकै धार्मिक पर्यटकीय स्थल पौराई ब्रह्मस्थानप्रति नेपाल सरकार, पुरातत्व विभाग र पर्यटन बोर्डको विशेष चासो आवश्यक छ । आस्थाकी देवी पौराई ब्रह्मस्थानले धार्मिक पर्यटनमा ठुलो योगदान पु¥याएको हुँदा मधेश प्रदेश सरकारले यस स्थानको संरक्षणमा जोड दिई प्रचारप्रसारमा विशेष योगदान दिनु पर्छ । यस स्थानलाई प्रदेशको पर्यटकीय सूचीमा राखेर थप विस्तारका साथ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नु पर्छ ।

मन्दिरको लामो समयदेखि संरक्षण र संवर्धन हुँदै आए पनि २०५२ सालदेखि यसले संस्थागत हुने अवसर पायो । पौराई ब्रह्मस्थान सुधार सङ्घ स्थापना गरी पर्यटक गन्तव्य बनाउनेसम्मका कार्य भएका छन् । सुधार सङ्घ स्थापनापश्चात् ब्रह्मस्थानको भौतिक निर्माणले ठुलै फड्को मारेको छ । यस परिसरभित्र विभिन्न किसिमका देवीदेवताका मन्दिर, महादेवको विशाल स्वरूपको मन्दिरदेखि धर्मशाला निर्माणलगायत खानेपानी र सरसफाइको काम पनि नियमित गरिन्छ । मन्दिरपरिसरमा प्रवेश गरेपछि भिन्नै किसिमको ईश्वरीय आनन्द महसुस हुने भक्तजन बताउँछन् । आस्थाका आधारमा र पर्यटकीय रूपमा समेत यो सबैका लागि गन्तव्यस्थल बनेको छ ।

सङ्घले यस परिसरभित्र १०८ शिवलिङ्ग र कैलाश परिक्रमाको स्थापना जनस्तरबाट गराउने कार्य थालेको छ । यो सराहनीय कार्य हो । सङ्घका वर्तमान अध्यक्ष रामशरण तिमल्सेना, स्थानीयवासी गोपाल न्यौपाने, भरत लुङ्गेली, रूपेश पण्डित, श्रीराम न्यौपानेलगायतका व्यक्ति यस कार्यमा प्रत्यक्ष संलग्न छन् । हुन त यस पवित्र कार्यमा सम्पूर्ण पौराईवासीको ठुलो योगदान छ । स्थानीय सरकारको पनि पूर्ण चासो र थप सहयोग अपेक्षा गरिएको छ ।

ब्रह्मस्थान पौराईवासीको मात्रै नभएर सम्पूर्ण हिन्दुजनको आस्थाको केन्द्र भएकाले यसतर्फ नेपाल सरकारलगायत सरोकारवाला सबै निकायको ध्यान जानु जरुरी छ । इतिहास बोकेको यो संरचनाले वर्तमानको समेत प्रतिनिधित्व गरिरहेको छ । अबका दिनमा यसको संरक्षण र संवर्धन सबैको साझा दायित्व बन्नु पर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय