आस्थाको धरोहर पौराई
gorkhapatraonline.com · Sat Jun 20 01:56:21 GMT 2026

मधेश प्रदेशको रौतहट जिल्लास्थित चन्द्रपुर नगरपालिका–१ मा पर्ने पौराई ब्रह्मस्थानप्रति आस्था र विश्वास बढ्दो छ । मधेश प्रदेश र भारतसँग सिमाना जोडिएका क्षेत्रका भक्तजन यस स्थलमा आई भाकल गर्छन् । भाकल पूरा भएपछि बलि (चडौना) दिने प्रचलन परापूर्वकालदेखि चलिआएको छ । विशेष गरेर सोमबार, बुधबार र शुक्रबारलाई विशेष दिनका रूपमा लिइन्छ । यस दिन भाकलको बलि पनि बढी चढाउने परम्परा छ । भाकल माग्ने पूरा भएपछि कतिले पञ्चबलि चढाउँछन् भने सामान्यतः बोका र परेवा चढाउने चलन छ ।
किंवदन्ती अनुसार विसं १९३०–३२ तिर (अनुमानित) तराईतिर सिकार खेल्ने क्रममा जङ्गबहादुर पौराई पुगेका थिए । जङ्गलमा सिकार खेल्दै जाँदा उनका सबै सेना हराए । सेना हराएपछि थकित भएर जङ्गलमा एक्लै बास बस्ने क्रममा राति सपनामा देवी आइनर । उनले म देवी हुँ, यहाँ मेरो स्थापना गरिदिनू, भोलि तिम्रा सबै सेना आउने छन् भनी दर्शन दिइन् । नभन्दै भोलिपल्ट जङ्गबहादुरका सबै सेना आए । त्यसपछि जङ्गबहादुर खुसी भएर पौराई ब्रह्मस्थान (देवी) स्थापना गरे । उनले त्यहाँ राजधामी नियुक्त गरी तोकिए अनुसार पूजा गर्न लगाएको किंवदन्ती छ । हालसम्म पनि राजधामीको परम्परा चलिआएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)