आकर्षण बनिरहेका ओसिटो र रेन्गलकाे कथा
nagariknews.nagariknetwork.com · Sat Jun 20 01:56:03 GMT 2026

विश्वकप फुटबलको उत्साहले मेक्सिको सिटीलाई छोपिरहेको बेला हजारौं समर्थकहरूको मन जित्ने पात्र कुनै स्टार खेलाडी, प्रशिक्षक वा आधिकारिक मस्कट बन्न सकेको छैन।
उद्धार गरिएको एउटा आठवर्षे कुकुर ‘ओसिटो’ नै अहिले विश्वकपकै सबैभन्दा चर्चित अनुहारमध्ये एक बनेको छ। मेक्सिकोको उद्घाटन खेलका समर्थकहरू रंगशालातर्फ जाँदै गर्दा ओसिटो आफ्नो मालिक जर्ज रेन्गलको कार्गो साइकलको पछाडि आरामसँग बसेको थियो।
मेक्सिकोको राष्ट्रिय टोलीको जर्सी, आकर्षक चस्मा र टोपी लगाएको ओसिटोले केही समयमै सबैको ध्यान खिच्यो। समर्थकहरूले उसलाई हेर्न, फोटो खिच्न र भिडियो बनाउन भीड नै लगाए। केही घण्टामै ओसिटोका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भए। अन्तर्राष्ट्रिय टेलिभिजन प्रसारणमा समेत उसको चर्चा हुन थाल्यो। ५० वर्षे रेन्गेलका लागि भने यो लोकप्रियता सामाजिक सञ्जालको चर्चाभन्दा धेरै ठूलो कुरा हो। ओसिटो रेन्गलको घर पालुवा जनावर होइन।
उनको जीवनकै अभिन्न साथी मान्छन्। ‘ऊ मेरो लागि कुकुरभन्दा धेरै हो, मेरो दैनिक सहयात्री हो,’ रेन्गल भन्छन्। पछिल्ला दुई वर्षदेखि ओसिटो रेन्गेलसँगै मेक्सिको सिटीका सडकमा घरायसी सामग्री वितरणको काममा निस्किने गरेको छ।
विशेष रूपमा परिमार्जन गरिएको कार्गो साइकलको पछाडि बसेर ओसिटो सहर यात्रा गर्छ। बाटोमा भेटिने मानिसहरूलाई शान्त भावले हेर्ने र मुस्कान बाँड्ने उसको बानीले धेरैको मन जित्ने गरेको छ। यो यात्रा संयोगबाट सुरु भएको थियो।
एक दिन रेन्गलले सामान वितरणका लागि प्रयोग हुने बाकसभित्र ओसिटोलाई राखेर छोटो साइकल यात्रा गराए। कुकुरले त्यसलाई रमाइलो मानेपछि उनले बाकसलाई थप सहज बनाउँदै लगे। बिस्तारै लामो यात्रामा पनि साथ लैजान थाले।
आज ओसिटो सडकमा निस्किँदा बालबालिका उसलाई भेट्न दौडिन्छन्। अपरिचितहरू तस्बिर खिच्न रोक्छन्। धेरै समय स्थिर बसेर यात्रा गर्ने भएकाले कतिपयले सुरुमा ओसिटोलाई खेलौना कुकुरसमेत ठान्छन्। ‘उसको स्वभाव निकै शान्त र मिलनसार छ। सबै जना उसलाई भेट्न चाहन्छन्,’ रेन्गलले भने।
विश्वकप सुरु भएपछि रेन्गलले ओसिटोलाई अझ ठूलो दर्शकमाझ पुर्याउने अवसर देखे। विश्वकपअघि नै ओसिटोका लागि रेन्गलले विशेष सामान जुटाए। ओसिटोकै कारण फुटबलका उत्साही समर्थकमा थप खुसीले भरियो। कुकुरको अनुहारअनुसार चस्मा, राष्ट्रिय टोलीको जर्सी र सजिएको साइकल रेन्गलले तयार बनाएका आकर्षण हुन्। जहाँ प्रतिक्रिया उनको कल्पनाभन्दा धेरै ठूलो रह्यो।‘मैले सोचेकोभन्दा धेरै बढी माया पाएँ,’ उनले भने।
‘सानो भालु’ भन्ने अर्थ लाग्ने ओसिटोको लोकप्रियताको मूल कारण उसको पोसाक वा भाइरल भिडियो होइन। मानिसहरूलाई सबैभन्दा धेरै छोएको पक्ष भनेको रेन्गल र ओसिटोबीचको आत्मीय सम्बन्ध हो। रेन्गलले जीवनको कठिन समयमा ओसिटोलाई अपनाएका थिए। ‘ओसिटो मेरो जीवनमा आएपछि मात्रै मैले जनावरलाई प्रेम गर्न सिकें,’ उनले भने।
उनीहरू प्रायः हरेक दिन सँगै बिताउँछन्। यदि रेन्गल ओसिटोलाई घरमै छोडेर बाहिर निस्किए भने ऊ भुक्दै आफ्नो असन्तुष्टि व्यक्त गर्छ। सडकमा भेटिने धेरै मानिसहरूले ओसिटोलाई देखेर आफ्नो तनावपूर्ण दिन केही खुसीमय बनेको बताउने गरेका छन्। कतिपयले मुस्कान बाँडिदिएकोमा धन्यवादसमेत दिने गरेका छन्।
विश्वकपको उत्सव जारी रहँदा ओसिटोका भिडियोहरू अझै सामाजिक सञ्जालमा फैलिरहेका छन्। तस्बिर खिच्नेहरूको भीड पनि उस्तै छ तर हरेक बिहान रेन्गल र ओसिटो फेरि आफ्नो साइकलमा चढ्छन्। मेक्सिको सिटीका सडकतर्फ लाग्छन् र फुटबल समर्थकलाई खुसी बाँड्छन्।
काम गर्दै नयाँ मानिसहरूसँग भेट्दै र ससाना खुसीका क्षण बाँड्नु उनीहरूको पछिल्ला समयको दिनचर्या बनेको छ। रेन्गल आफ्नो जीवनको सुखद पक्ष नै यही क्षणलाई लिन्छन्। टेलिभिजनमा देखिनु वा भाइरल बन्नु सुखद अनुभव भए पनि एक मानिस र उसको कुकुरबिचको स्नेह देख्न पाउनु नै उनको लागि सबैभन्दा ठूलो उपलब्धि बनेको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा