मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिष्थापन विधेयक ल्याउने बाटो खुल्यो

news24nepal.tv · Sat Jun 20 03:00:04 GMT 2026

काठमाडौं । सरकारले संसद अधिवेशन रोकेर ल्याएका विभिन्न ८ अध्यादेशमध्ये ४ वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत गरिएको हो ।

गत वैशाख १७ गतेका लागि बोलाइएको सङ्घीय संसद्को अधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले बस्दै नबसी स्थगित गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिस अनुसार राष्ट्रपति पौडेलले अघिल्लो दिन आह्वान गरेको सङ्घीय संसद्को अधिवेशन पुनः दोस्रो दिन स्थगन गरेका थिए ।

राष्ट्रपति कार्यालयलाई आह्वान गरिएको अधिवेशन विशेष कारणले स्थगित गर्न परेको भन्दै सरकारले पत्र पठाएकोले अधिवेशन स्थगन गर्नुपरेको राष्ट्रपति कार्यालयले जनाएको थियो ।

कारण थियो–संसद अधिवेशन शुरु नगरी अध्यादेशमार्फत कानूनहरु अघि बढाउने । आह्वान गरिसकेको संसद अधिवेशन रोकेर सरकारले विभिन्न ८ वटा अध्यादेश जारी गरेपछि विपक्षी दलहरुले झण्डै २ तिहाईको सरकार पनि अध्यादेशबाट चलाउन खोजेको भन्दै विरोध जनाए ।

विपक्षी ४ दलले त सरकारले पेश गरेको अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष सिफरिस नै गरेका थिए । विपक्षी दलहरू नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले सिफारिश गरेका अध्यादेशहरू जारी नगर्न राष्ट्रपति पौडेललाई आग्रह गरेका थिए । तर राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश होल्ड गरि फिर्ता पठाएपछि पुनः दोस्रो पटकमा जारी गरिदिए ।

राष्ट्रपतिबाट जारी भएका अध्यादेशहरुः

- सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

- सहकारी (पहिलो संशोधन) अध्यादेश

- सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिरिङ) निवारण (तेस्रो संशोधन अध्यादेश)

- स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

- सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश

- विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

- राष्ट्रपतिले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

- संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश

झण्डै २ तिहाईको सरकारले पनि सदन छलेर अध्यादे ल्याएको भन्दै विपक्षी दलहरुले चर्को विरोध गरेका थिए । अध्यादेश जारी भएपछि मात्रै संसद अधिवेशन आह्वान गरियो । संसदको पहिले बैठकमै वैशाख २८ गते प्रतिनिधिसभा र राष्ट्रिय सभामा ती ८ वटै अध्यादेश पेश गरिएको थियो ।

शुक्रबारको प्रतिनिधिसभा बैठकबाट ८ मध्ये ४ वटा अध्यादेश स्वीकृत भएको छ । शुक्रबारको प्रतिधिनिसभा बैठकबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशस्वीकृत भएको हो । योसँगै अब यी चार अध्यादेश प्रतिष्पथापन विधेयक ल्याउने बाटो खुलेको छ ।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३

०८:४५

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)

सम्बन्धित विषय