मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप २०२६: कुन्हाको चम्काइमा ब्राजिलको सहज जित, हाइटी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली

canadanepal.com · Sat Jun 20 03:17:26 GMT 2026

फिलाडेल्फिया- पहिलो खेलमा मोरक्कोसँग बराबरी खेल्दै आलोचना खेपेको पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६ मा सानदार पुनरागमन गरेको छ। बिहीबार फिलाडेल्फियामा भएको समूह 'सी' को खेलमा ब्राजिलले हाइटीलाई ३-० को सहज अन्तरले पराजित गर्दै समूहको शीर्ष स्थानमा कब्जा जमाएको छ।

यस हारसँगै लगातार दुई खेल गुमाएको हाइटी सन् २०२६ को विश्वकपबाट बाहिरिने आधिकारिक रूपमा पहिलो टोली बनेको छ।

मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस खेलमा इगोर थियागोको स्थानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड म्याथियस कुन्हालाई सुरुवाती-११ मा मौका दिएका थिए, जसलाई कुन्हाले पूर्ण रूपमा सदुपयोग गरे।

पहिलो गोल (२३ औं मिनेट): हाइटीका डिफेन्डर ह्यानेस डेलक्रोइक्सले बल क्लियर गर्न खोज्दा बल कुन्हालाई लाग्दै सिधै पोस्टभित्र छिरेको थियो।

दोस्रो गोल (३६ औं मिनेट): भिनिसियस जुनियरको उत्कृष्ट पासलाई सदुपयोग गर्दै कुन्हाले व्यक्तिगत दोस्रो गोल गरे र ब्राजिलको अग्रता दोब्बर बनाए।

पहिलो हाफको इन्जुरी समयमा लुकास पाक्वेटाको लामो पासलाई नियन्त्रणमा लिँदै रियल मड्रिडका स्टार भिनिसियस जुनियरले टोलीका लागि तेस्रो गोल गरे। जारी प्रतियोगितामा भिनिसियसको यो व्यक्तिगत दोस्रो गोल हो।

तर, खेलको पहिलो हाफमै ब्राजिलले एउटा ठूलो धक्का बेहोर्नु पर्यो। बार्सिलोनाका विंगर राफिन्हा चोटग्रस्त हुँदै मैदानबाट बाहिरिए। उनको स्थानमा बोर्नमाउथका रायन मैदान प्रवेश गरेका थिए।

दोस्रो हाफमा हाइटीले केही राम्रा अवसरहरू सिर्जना गर्‍यो। हाइटीका रिकार्डो आडेको सशक्त हेड प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। खेलको अन्त्यतिर ब्राजिलका युवा सनसनी एन्ड्रिकले बललाई जाली चुमाएका थिए, तर अफसाइडका कारण रेफ्रीले त्यस गोललाई मान्यता दिएनन्।

लगातार दुई हारसँगै हाइटी विश्वकपको दौडबाट बाहिरिए पनि उसका खेलाडी र समर्थकहरूका लागि यो विश्वकप यात्रा ऐतिहासिक र अविष्मरणीय बन्नेछ। अब समूह चरणको अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डको सामना गर्नेछ भने हाइटीले आफ्नो प्रतिष्ठाका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)

सम्बन्धित विषय