ताइ न तुइको यात्रा !
baahrakhari.com · Sat Jun 20 03:15:00 GMT 2026

‘प्रसिद्ध नेपाली कवि ईश्वरवल्लभजीसँगै दार्जीलिङका प्रख्यात नेपाली साहित्यकार इन्द्रबहादुर राई (‘आईबी सर’का नामबाट परिचित)कहाँ भेट्न गयौँ । ‘सर’सँग कुराकानी गर्दा वास्तवमा खुबै आनन्द आयो । चियाको निरन्तर सप्लाईका कारण पनि आईबी सरकहाँबाट हिँड्न मन लागिरहेको थिएन ।’
साहित्यकार तथा अग्रज साहित्यिक पत्रकार दुर्गाप्रसाद श्रेष्ठ दाइको एउटा हिन्दी यात्रास्मृति अनुवाद गर्दा यस्ता केही हरफहरूले मलाई बारम्बार दार्जीलिङ पुर्यायो ।
दुर्गा दाइको यात्रा वृत्तान्तकृति ‘देश—देशान्तर’मा संगृहीत ‘पहाडों की रानी की गोद मे’ पढिसकेपछि त्यसलाई नेपालीमा अनुवाद गर्न मन लाग्यो । अनि लेख्न सुरु गरेँ ।
दुर्गा दाइको यात्रावृत्तान्त हिन्दी भाषामा छ । त्यसमा दर्जन बढी यात्रा संस्मरण समावेश छ ।
दाइले १५ दिन ‘पहाडकी रानी’ दार्जीलिङमा बिताए । त्यो यात्राको रोचक प्रसंग र मनै आह्लादित बनाउने सन्दर्भ संस्मरणका दाइका शब्दशब्दमा भेटिन्छ । म नेपालीमा भावानुवाद गर्दै रमाउनुसम्म रमाएँ ।
बनारसका गल्लीगल्लीमा घुमिरहेका दुर्गा दाइ दार्जीलिङका गल्छेडायुक्त उकालीओरालीमा रमाइरहेका थिए, यात्रा संस्मरणमा ।
उनी कहिले कवि ईश्वरवल्लभकहाँ पुग्थे । कहिले आख्यानकार इन्द्रबहादुर राईकहाँ । अनि, कहिलेकाहीँ अरूअरू साहित्यकर्मीसँगको भेटघाटमा जम्थे ।
मैले सोचेँ, यसरी रमाउँदै सबैसँग सम्पर्कमा रहने हो भने १५ दिन त के ४५ दिनै पनि बिताउन सकिन्छ ।
दुर्गा दाइको यो यात्रालाई नेपाली भाषामा उतारिरहँदा म पनि दार्जीलिङतिरै भौँतारिरहेको थिएँ । तर, दाइसँग होइन, एक्लै ! नितान्त एक्लै ।
अनि, आफैँलाई सोधिरहेँ– हामीले गरेको त्यही पर्यटकीय नगरी दार्जीलिङको भ्रमण यति रमाइलो किन हुन सकेन !
०००
तीन दशक नै बितिसकेछ, ताइ न तुइको त्यो यात्रा गरेको पनि । हाम्रो गाउँतिर भन्छन्– काम न काजके, नौ मन अनाजके !
त्यस दिन हामी दार्जीलिङ टेक्न मात्र पुगेका रहेछौँ भन्ने अनुभूति आज ३० वर्ष पुग्नै लाग्दा भइरहेको छ । ‘दार्जीलिङ पुगिस् ?’ भनेर कसैले सोध्दा ‘पुगेँ’ भन्ने मात्रै हो । बाँकी अरू प्रसंग भए न उल्लेख गर्ने !
एकपटक म बाजुरा यसैगरी पुगेको थिएँ । मोहनहरि दाइ र म मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्जका लागि उड्यौँ । राराताललाई देब्रे पारेर उडेको हवाईजहाज पाँचसात मिनेटलाई बाजुराको कोल्टी विमानस्थलमा ओर्लियो ।
किन ओर्लियो भन्ने विषयमा केही थाहा हुन सकेन । न त हामी बाहिर नै निस्किन पायौँ । केही बेरपछि मात्रै विमान त्यहाँबाट उड्यो ।
करिब ४५/५० मिनेटपछि हामी नेपालगन्जको एयरपोर्टमा थियौँ ।
आज सम्झँदा लाग्छ, करिबकरिब त्यस्तैत्यस्तै थियो दार्जीलिङको त्यो यात्रा । त्यो घुमाइ । घुमाइ पनि के भन्नु, टेकाइ मात्र भने पनि हुन्छ ।
त्यस दिन न त दुर्गा दाइजस्तो चौरस्ता घुमियो न चोकबजार नै पुगियो । न त कुनै पसलमा गएर केही खरिददारी नै गरियो । कुनै एक ठाउँमा पुगेर मनभरि दार्जीलिङ सहरलाई हेर्न पनि पाइएन !
त्यस दिन विराटनगरबाट दार्जीलिङ पुग्दासम्म मेरा दुवै खुट्टा ड्राइभर र हाकिमको चेपुवामा परेर सुन्न भएको थियो । बसाइ नमिलेर दिनभर खुट्टा निदाएको निदाएकै भयो । आफूले आँखा झपक्क गर्न पाएको होइन, खुट्टा निदाएर ।
दमक, बिर्तामोड, फिक्कल, पशुपतिनगर हुँदै साँझ दार्जीलिङ पुगिसकेपछि एउटा मात्र महत्त्वपूर्ण काम गरियो । अर्थात्, चिया बगानमै गएर एक कप लोकल चिया पिइयो । बस् !
माघको चिसोले आफ्नो असर देखाउन सुरु गरिसकेको थियो । पातलो फर्मल प्यान्ट, त्यसमाथि ट्राउजर नभएपछि मेरो अवस्था कस्तो भयो होला, अनुमान लगाउन सकिन्छ ।
म ट्राउजर किनौँला भन्ने सोच्दै थिएँ, मौका नै मिलेन । लगत्तै अँध्यारोले छोपिहाल्यो । दुर्गा दाइले चोकबजार र चौरस्ता घुमेझैँ आधा घण्टा मात्रै पनि त्यता रल्लिन पाएको भए केही त पक्कै हुन्थ्यो ।
त्यसो भएन वा हुन सकेन । माघ महिनाको साँझ ६ नबज्दै अन्धकार भइसकेको थियो ।
हामी चिया बगानबाट सिधै एउटा होटेलमा पस्यौँ । भोकले तिरिमिरी पारेको थियो । खानेकुराको अर्डर भयो । टेबलमा आइपुगेको खाजामा अलिअलि धावा बोलियो ।
त्यहीँ केहीले ‘फायरबल’ सिक्किमे ब्रान्डीको डल्ले बोतल खोले । मेरो भागमा पनि एकथान सिसाको गिलास आइपर्यो । अनि, रातको खाना पनि त्यसै होटेलमा खाइयो ।
पहाडकी रानी भनेर चिनिने दार्जीलिङको साँझ हेर्नुभन्दा होटेलको कुनो समातेर हामी घण्टौ बस्न बाध्य भयौँ । पहाडकी यी चिसी रानी घुमौँ, हेरौँ भन्नेतर्फ कसैलाई कुनै सरोकार नै थिएन । सबै ज्यान तताउन लागे ।
नजिकैको एउटा लजमा (होटेलमा होइन) कोठा बुक गरिएको रहेछ । मध्य जाडोको महिना । सायद टेम्प्रेचर माइनसतिर पुगिसकको थियो । त्यहाँको चिसोले त्यही संकेत गर्थ्यो ।
यो चिसो समय दार्जीलिंगेहरूको भनाइमा ‘अफ सिजन’ हो । यस महिनामा दार्जीलिङ घुम्न खासै मानिस वा पर्यटक जाँदैनन् । उही काम परेकाहरू मात्र पुग्ने हुन् त्यहाँ ।
यस्तो मौसममा होटेल पनि सजिलो गरी पाइन्छ । एसी कोठा लिँदा पनि त्यति महँगो पर्दैन । आममानिसले तिर्न सक्ने मूल्यकै हुन्छ ।
तर, हाम्रा भ्रमण व्यवस्थापकले बिनाएसीको कोठा लिएछन् । त्यहाँ एसी भएको कोठा पनि रहेछ, तर लिएनन् । किन लिएनन्, कोठा बुक गर्नेहरू नै जान्दा होलान् ।
राजेश राजभण्डारी, रघुवरलाल श्रेष्ठ र म एउटा कोठामा कोच्चियौँ । अरू कताकता लागे थाहा भएन । अरूको कोठामा एसी थियो कि ! त्यतातिर पनि वास्ता गरिएन । किनभने, हामी तिनका (ठूला हाकिमका) कोठातिर पस्दै पसेनौँ ।
हामी ओछ्यानमा छिरेर सिरकले ज्यान छोप्दै गफिन थाल्यौँ । समय घर्किंदै जाँदा जाडोले काम छुटायो । गफ गर्दै गर्दा पनि जाडोले जाने नाम लिएन ! सिरकभित्रै कामजरो छुटेझैँ भयो ।
त्यो उत्पातको चिसोमा के निदाउन सकिन्थ्यो । गफै पनि कति बेर लाउनु ! अब त भएन भन्दै होटेलका कर्मचारीलाई भनेर थप सिरक मगाइयो । त्यही सिरक खप्टेर न्यानो मानेर सुत्ने चेष्टा गर्यौँ । यद्यपि, साह्रै कष्टकर रात बित्यो त्यो ।
बिहान झिसमिसेमै कोठाको ढोकामा ढकढकको आवाज आयो । ढोका खोल्दा हाकिमहरू देखिए । टाइगर हिल जाने भनेर उनीहरू तयार भएर उभ्भिएका थिए ।
टाइगर हिलको चर्चा दुर्गा दाइले पनि आफ्नो यात्रा संस्मरणमा स्वादले गरेका छन् । दाइले कञ्चनजंघामा पोखिएको उषाको लालिमाको चर्चा सुन्दर किसिमबाट गरेका छन् ।
सूर्यको लालिमा, कञ्चनजंघाको श्वेत पहिरन र त्यसमा पोखिएको राताम्य सौन्दर्यको चर्चा अत्यन्त मनमोहक छ ।
यति बेला भने हामी आँखा पोल्दैको अवस्थामा मुख धोएर गाडीतिर भाग्यौँ । साथमा ब्याग बोक्न भनियो । भरे अर्को होटेलमा बस्ने होला भन्ने लागेर ब्याग बोकियो ।
साँढे पाँच बजेतिर हामी टाइगर हिलमा बग्दै गरेको सिरेटोमा सेकिँदै थियौँ । सर्वत्र बादलले ढाकेको अवस्था । टाइगर हिलमा पनि हिउँ ढपक्क थियो । एउटा कुनामा हिउँको ढिस्को नै खडा गरिएको थियो ।
हिउँको कार्पेट र मुटु कमाउने चिसोले केही सोच्नै दिइरहेको थिएन । ज्यानलाई चिसो सिरेटोले रेटेको अनुभव भइरहेको थियो । काठमाडौं बसे पनि मेरो ट्राउजर लगाउने बानी कहिल्यै भएन । कहिले वास्ता पनि गरिएन ।
टाइगर हिलको चिसोले भने मलाई रन्थन्यायो । पातलो प्यान्ट र भित्र रहेको पतलुनले चिसो छल्न साह्रै सकस भयो । त्यहीँ थर्मसमा चिया बोकेर हिँडेका चियावालाहरूसँग दुईचार कप चिया चुस्क्याउनुबाहेक हाम्रो अरू केही काम भएन ।
सात बज्नै लाग्दा पनि बादलले कञ्चनजंघा र सूर्यलाई छोपेको छोप्यै गर्यो । बादलुको घुम्टो अलिकति पनि खुलेन । हिलमा भीड बढ्दो थियो । यद्यपि, भीडतिर कञ्चनजंघाको नजर परेकै थिएन । न त हाम्रो नजरले कञ्चनजंघा भ्याएको थियो ।
त्यहाँको बिहानी उषाको लालिमाको सौन्दर्य ३० वर्षपछि मैले दुर्गा दाइको किताबमै पढेँ ! त्यहाँ त केही हेर्नै पाइएन ।
‘हैट ! यस्तो पनि हुन्छ ? यस्तो हुन्छ भन्ने थाहा भएदेखि त बरु दार्जीलिङ नै घुमे हुन्थ्यो ।’
राजेश दाइ, रघुवरजी र मेरो विचार मिल्यो । बाँकीलाई त त्यही कालो बादल र हुस्सुले पनि रमाइलो भइरहेको थियो होला !
ड्राइभर गाडीमै निदाएका थिए । तिनलाई उठाएर हामी टाइगर हिलबाट तल झर्यौँ ।
अब दार्जीलिङ पुगेर मिले केही बेर होटेलमै निदाउने मेलोमेसो मिल्ला भन्ने म सोच्दै थिएँ । तर, तल मूल सडकमा पुगेर गाडी दाहिनेतिर मोडियो ।
अर्थात्, गाडी दार्जीलिङतिर नगएर खर्स्याङतिर ओर्लियो । हाकिमहरूको आदेश त्यही रहेछ । चालकले आदेशको पालना गरे ।
मेरो अनुहार गलित भयो । एक त राति जाडोले कक्रिएर सुतेको र बिहानै उठ्नुपरेको ज्यान, त्यसमाथि राम्ररी दार्जीलिङ घुम्न नपाएको दुःख । टाइगर हिलले पनि धोका दिएको यो परिस्थितिमा मन खुम्चिनु अस्वाभाविक थिएन ।
रघुवर र राजेश दाइको पनि त्यही अवस्था थियो । त्यो अवस्थिति विराटनगर पुगेपछि मात्र दाइले सुनाए ।
केही समयपछि खर्स्याङमा हामी अडियौँ । खाजाका नाममा चिया र केही पिस पाउरोटी चपाएर सिलिगुडीतिर झर्यौँ । हामीले खर्स्याङ पनि राम्ररी हेर्न पाएनौँ । त्यहाँ केही राम्रा स्कुल र केही दर्शनीयस्थल पक्कै थिए, तर अरूलाई मतलब भएन । मैले मतलब राखेर के गर्नु !
बिहान करिब ११ बजे सिलिगुडी पुगिसकेका हामी खान कहाँ खाने भन्ने विषयमा अलमलियौँ । राजेश दाइले सिलिगुडीको छाप्रे होटेलको माछाभात मिठो हुन्छ भने । दाइले त्यहाँ धेरैचोटि माछाभात खाइसकेका रहेछन् ।
अहँ ! हाकिमहरूको हैसियतले त्यहाँ जान दिएन । ‘हुन्न, त्यस्तोमा गएर खानु हुन्न’ भन्ने जवाफ आयो ।
सिलिगुडीमा हामीलाई, हाम्रा हाकिमलाई चिन्ने कसले ? तर हैन, छाप्रोमा गएर खान हुँदैन भन्ने मानसिकताले एउटा रेस्टुरेन्टमा हामीलाई पुर्यायो । त्यहाँ स्वाद न ब्यादको खाना खानु हाम्रो बाध्यता बन्यो ।
खाना खाएर सिलिगुडीको बजार घुमिएला भन्ने सोचेको थिएँ । त्यस्तो अवस्था जुरे यसो अलिअलि केही सामान किनौँला भन्ने पनि थियो मनमा ।
त्यसबीचमा ड्राइभर र हाकिमको वार्ता भइसकेको थियो क्यार, उनले केही बेर बजार र गल्लीमा गाडी कुदाए । अनि, सिधा बागडोगरा हुँदै पानीट्यांकीको बाटो समाए ।
हामी तीनैजना ट्वा पर्यौँ ! केही गर्न सक्ने अवस्थामा हामी थिएनौँ । मौनम् शरणम् भन्दै हामी साँझपख मेनरोड विराटनगरको आफ्नो अड्डामा ओर्लियौँ ।
‘दार्जीलिङ घुमिस् ?’ भनेर कसैले सोध्दा ‘टेकेँ’ भन्ने अवस्थाको हाम्रो दार्जीलिङ भ्रमण यहीँ सकिएको थियो ।
बेलाबखत चाबेलमा राजेश दाइसँग भेट हुँदा हामीबीच दार्जीलिङको कुरा उठ्छ । अनि, पुराना कुरा सम्झिएर एकछिन दुवै रुन्चे हाँसो हाँस्छौँ ।
अनि सोच्छौँ— हामी एक कप चिया बगानको चिया र स्थानीय रूपमा उत्पादित दारु खान मात्रै दार्जीलिङ गएका रहेछौँ त !
#स्मृति
#यात्रा
#ताइ न तुइ
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)