हात हातमा कोशी
gorkhapatraonline.com · Sat Jun 20 04:14:31 GMT 2026

अरनिको राजमार्गमा धुलो उडाउँदै गुडेको छ गाडी । गाडीको जुलुस छ सडकमा । समयमा छिचोल्न कठिन देखेर सूर्यविनायकबाट चालक भाइले घुमाए गाडी सल्लाघारीतिर । जाम खानुभन्दा वैकल्पिक मार्गबाट हिँड्ने निर्णय लिए ।
डाँडैडाँडा कुद्न थाल्यो इभी गाडी । गाडीभित्र हामी कवितामय भएका छौँ । देवकोटा, बालकृष्ण सम, भानुभक्तदेखि भवानी खतिवडा, विनोदी गुरु र सिर्जनाका सिर्जनाले गाडीभित्रको मौसम काव्यिक उत्सवभन्दा कम छैन । निकै लाभदायक भएको छ गाडीभित्रको साहित्यिक विमर्श । गफको लहरो टुङ्गिने अवस्था नै छैन । घरी गीतमा बहकिन्छौँ, घरी कवितामा त घरी विमर्शमा । प्रतीक दाजु भन्नुहुन्छ, “हेरौँला तिमीहरूको ऊर्जा जिरी पुगुन्जेल ।” तर हामी पलभर पनि नरोक्किई अनैकोट पुगेका छौँ । बाटो सानो भए पनि सलल गुडेको छ गाडी ।
पाँचखालको फाँट देखियो । आलुका बोरा गरा गरामा उभिएर हामीलाई स्वागत गर्दै छन् । आफ्नो अस्तित्वको उचाइ लिएर हाँस्दै छन् किसानको मेहनत र पसिना । बोरा बोरामा श्रमको अर्थ समृद्धशाली आकाश ओढेर उठ्दो छ । किसानका ठेलामा अर्थको महक मगमगाउँदो छ । कृषिविज्ञ भवानी दिदी भन्नुहुन्छ, “पाँचखाल आलुको पकेट क्षेत्र हो ।”
कृषि प्राविधिक भवानी दिदी मलाई बुझाउनुहुन्छ, “जुन ठाउँमा जुन किसिमको बाली राम्रोसँग उत्पादन हुन्छ, त्यो ठाउँमा नेपाल सरकारले कृषि र किसानलाई सहयोग गर्छ । उपयुक्त माटो, हावा, पानी सुहाउँदो बाली विस्तार गर्न नेपाल सरकारले सहकार्य गर्दै आएको छ । जस्तैः सिन्धुलीको जमिन जुनारको पकेट क्षेत्र हो, इलामको चिया चियाका लागि पकेट क्षेत्र भए जस्तै मुडे र मुस्ताङ आलुको पकेट क्षेत्र हो ।” भवानी दिदीले कति सरल तरिकाले कृषिको परिभाषित शब्दलाई बताइदिनुभयो ।
जमिनमा उभिएका आलुका भारी भारी बोराले सिकाएको पकेट क्षेत्रको अर्थ सुन्दासुन्दै हामी त पाँचखाल पो कटिसकेछौँ । अरनिको राजमार्गमा जाम छैन । इन्द्रावती झैँ सलल बगेका छौँ पक्की सडकमा । एउटा आँखाले इन्द्रावती पिउन थाल्छौँ, अर्को आँखाले भोटेकोशी । भोटबाट आएर होला भोटेकोशी अलि धमिलो देखिन्छ तर इन्द्रावती उज्याली । दोलालघाटको दृश्य हेर्दै अगाडि बढेका छौँ । गीतको सारङ्गी रेट्न छाडेका छैनौँ ।
गाडी मोडियो सिम्लेतिर । कोशी साइडतिर देखियो होटेल । होटेलमा खाना खायौँ । खानाले पेट उज्यालो भएपछि तल कोशी किनारातिर ओरालियौँ । सडकको मोडमै देखियो कर्कश आवाज फैलाउँदै हाँसिरहेको क्रसर उद्योग । कृत्रिम पहाड छ आँखैअगाडि । बालुवाको चुली पहाड बनेर बसेको छ । ढुङ्गाको रास छ छेउमा । धुलो उडेको छ सुन्दर वातावरणमा । क्रसरमा ससाना ढुङ्गा छानिएका छन् । जाली जस्तो लामो फित्ता आफ्नै तालमा चलायमान । बगर छाड्न विवश ढुङ्गाहरू घररर आवाज निकाल्दै कुदेका छन् फित्ताको बाटो भएर, नजिकै हिँडेका साथीको बोली पनि सुनिँदैन आवाजको प्रदूषणले । ठुला ठुला ट्रक ओरालिएका छन् कोशीको सौन्दर्य ओसार्न । देखिन्छ कोशीको गालामा खोपिल्टा । दोहनका गहिरा खाडल देखिन्छन् कोशी किनारामा । पानी धमिलो भएको कारण पनि दोहन नै त रहेछ ।
कोशी जननी झैँ लाग्छ मलाई । आमाको दुधले मात्र कहाँ पुग्छ र अचेलका कतिपय सन्तानलाई । जब दुधभन्दा रगतको मूल्य बढी हुन्छ तब आमाको मुटु फुटाएर तातो रगत पनि बेच्न पछि पर्दैनन् तिनीहरू । तिनीहरूलाई कोशीको शीतल जल प्रीतिकर लाग्दैन । अनियन्त्रित व्यापारको क्षेत्र विस्तार हुँदा कोशीको छातीमा ढुङ्गा, बालुवा घट्दै आएको छ । आकाशमा उडेका चरीदेखि, पानीमा पौडने माछासम्म चाहिएको छ हामीलाई । भोग गर्न मात्र आएको छ मान्छे यो धरामा झैँ लाग्छ । तृष्णाको अन्त्यहीन आकाश पेटमा ग्रहण गरेर बसेको मान्छे पृथ्वीको शत्रु झैँ लाग्दै छ । विशाल छ तृष्णा । चाहनाको लहरो अप्राप्य छ । जति भरिए पनि झन् झन् खोक्रो छ मान्छेको भोक । सुरक्षाको प्राकृतिक आकाश ओढे पनि खोज्छ पलपल नवीन र कृत्रिम नभ । आधुनिक सभ्यतामा बगर बन्छ खोला । खोलाको गतिशीलताभन्दा प्रिय छ पोखरीको स्थिरता ।
बालुवा, ढुङ्गा झिकेर धमिलो पोखरी बनाइँदै छ कोशीलाई । खहरे पनि बन्न सक्छ कोशी कुनै दिन । खोलाको सभ्यता व्यापार भएपछि नैतिकता बग्दो रहेछ उदाउँदै । ढुङ्गा हुँदै गएको मान्छे ढुङ्गा बेच्न लालायित छ पलपल । बालुवाको राजनीति गर्न अभ्यासी छ खनेर आफू उभिएको जग । खोलाको किनार होस् या जङ्गलको सौन्दर्य हरदम लुट्न तयार छ नाफाको काँचो वायु । देख्छु कोशीको पोटिलो गाला विरूप भएका । आधुनिक मान्छे विवश हो कि विचारशून्य बुझ्न सक्दिनँ आफ्नै स्वभाव । मन भरिन्छ प्रलयको आँधीबेरीले । क्रसरको आवाज चर्को छ । गाडीको गति धीमा भए पनि बाटो सानो छ । छेउ लागेर उभिन्छौँ । कोशी तटमा पुगेपछि देखिन्छ माटो बालुवा बगाउँदै आएकी कोशी । बालुवा झिकेको कारण बनेको छ ढिस्को । भन्छन् स्थानीयहरू छेउमा नजानू भ्यास्स खस्न सक्छ कोशीको किनार । म हराउँछु कोशी किनारमा । चिन्तित कोशी कानैमा भन्छिन्, “बिस्तारै तल झर अनिता के थाहा कुनै दिन म बगर बन्न पनि त सक्छु । मेरो मुहान पनि त कहाँ स्थायी छ र अचेल । हिउँको वर्षा कम हुँदै छ । हिउँ पर्न छाड्यो भने त मेरो अस्तित्व पनि नामेट हुन्छ । आज मौका छ उठा कोशी आफ्नो हातमा । भर हृदयमा हिमाली जल । अनुभूत गर मेरो शीतलता ।” तर्सिन्छु कोशीको पुकारले र ओर्लिन्छु कोशीको तटमा । धुलोकण मिसिएको पानी पिउन लायक छैन तर पनि उचाल्छु कोशीलाई हत्केलामा । शिर सेचन गर्छु । कोशीको जीवन्त स्पर्शले मलाई ऊर्जाशील बनाउँछ । साथीहरू किनारभन्दा माथि अग्लो स्थानमा छन् । भवानी दिदी ढुङ्गामाथि ढुङ्गा राखेर बनाउँदै हुनुहुन्छ छोर्तेन । म कोशी उचालेर फ्याँक्छु किनारमा । साथीहरू उत्साहित छन् कोशी छुन । प्रत्येक स्रष्टाको हातहातमा उचालेर कोशी थपक्क राखिदिन्छु । दङ्गिनु हुन्छ साथीहरू चिसो पानीको छुवाइमा । पारिबाट घना जङ्गल मुस्कुराउँछ हाम्रो किशोरवय व्यवहारमा । वसन्तको बहार बोकेर जवान हुँदै गएको सिङ्गो जङ्गलले पनि भन्छ, “जङ्गलको दर्शन उचालेर जा अनिता आफ्नो गन्तव्यमा । जङ्गलको एकतालाई ग्रहण गर । परिवर्तनको धर्मलाई स्वीकार गर । कुनै दिन त यता आउँदा पात खसेर कुरूप पनि देखेका थियौ होला तर अटल विश्वास सजाएका थियौ । मौसम फेरिन्छ । फेरिनु नै सौन्दर्य हो प्रकृतिको । पात झर्नु सक्किनु होइन । नवीनताका लागि मार्ग खोल्नु हो । वसन्त त आउँछ आउँछ भन्दै हामीले धीरताको ध्यान गर्दै आएका थियौ । पतझड आउँदैमा जीवन समाप्त हुँदैन । खडेरी लाग्दैमा बर्सात समाप्त हुँदैन । आज हेर अङ्ग अङ्गमा वसन्त मुस्कुराएको । तँ पनि वसन्त फुलाउने कोसिस गर आफ्नो जीवनमा । मानव समुदायमा । विनाशको दुन्दुभीले मानव सभ्यतालाई नामेट नपारोस् । समय छँदै जगा तेरो समुदायलाई ।” नमन गर्छु जङ्गलको सत्सङ्गमा । कोशी र जङ्गल ज्ञान बनेर मसँगै हिँडेका छन् । राजमार्गमा उक्लिन अगाडि बढ्दै छौँ ।
बालुवाको थुप्रो मलाई हेरेर रुन्चे हाँसो हाँस्छ र दबिएको आवाजमा भन्छ, “हामी कोशीको काखमा सुरक्षित थियौँ । शक्तिशाली थियौँ । हामी उदण्ड हुन खोज्दा पनि सामूहिकताको धर्मले छेक्थ्यो । हामी साँच्चै आफ्नै बाटोमा सलल बग्दै थियौँ तर आज हाम्रा अङ्गहरू चुँडालिएका छन् । लुटिएका छौँ हामी । भत्किएको छ संरचना । विश्वास दिलाउन सक्दिनँ ! हामी अब शान्त भएर नै बगिरहने छौँ । अब सीमा भत्किन सक्छ । आउन सक्छ प्रलय । विनाश हाम्रो रहर होइन तर कर्मको फल त भोग्नै पर्छ मान्छेले । कोशीले कोरेको आफ्नै पहिचान फेरिनसक्छ । हेर त हामीलाई आफ्नै आँगनबाट खोसेर बेचिँदै छ अन्धाधुन्द ।
कोशीको किनारमा बस्दा भोटको सुगन्धले हामी मौलिक थियौँ । मोहित हुन्थ्यौँ आफ्नो पहिचानप्रति । बगर भएर किनारभरि फैलिँदा पनि निकै हर्षित थियौँ । निर्जीव भएर पनि हामी जीवन्त थियौँ । हामीलाई पहाडसँग दाँजिनु छैन । हाम्रो उचाइ बगरमै छ ।” बालुवा पनि समवेत स्वरमा बोल्छन्, “हामी बालुवा हौँ । बालुवा नै रहन चाहन्छौँ । बालुवाको पहाड बनाएर चढ्न खोज्छ उचाइ विमूढ मान्छे । थुप्रो मात्र भएर कोशीलाई हेर्दै उभिनुपरेको भए पनि त ठिकै थियो । आमाको काखमा छौँ भन्थ्यौँ । ऊ हेर त टिप्परमा राखेर लैजाँदै छन् हामीलाई कताकता । नदीको सिङ्गो सभ्यताबाट अलग बनाएर हामीलाई पृथक् अस्तित्व दिँदा झर्नुपर्ने रहेछ अनेक पटक फुस्स फुस्स । बालुवाको पहाड बोल्दा बोल्दै मौन हुन्छ । मेरो मन यता धमिलो हुन्छ । मलाई बेचिएका चेली झैँ लाग्दै छन् यी कोशीका ढुङ्गा र बालुवा । मान्छे पनि त समुदायभित्र सुरक्षित हुन्छ । अलग्गिनु अस्तित्व निर्माण गर्नु मात्र पनि त नहुन सक्छ । यात्रा महाप्रस्थान पनि त हुन सक्छ ! चिन्तनशील हुँदै थिएँ । प्रतीक दाजुको फोन आउँछ, “पछाडि आउने गाडी हिँडिसक्यो लु चाँडो आउनु प¥यो ।” हृदयभरि कोशी बोकेर हतारिँदै राजमार्जमा पुग्छौँ !
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मौसम