मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जग्गा विवादमा हत्या गरेर २० वर्षदेखि फरार अभियुक्त जेल चलान

ratopati.com · Sat Jun 20 05:12:50 GMT 2026

बारा । बारामा २० वर्षअघि जग्गा विवादका कारण एक पुरुषको घाँटी रेटी हत्या गरेर फरार भएका अभियुक्तलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०६२ साल असोज ३ गते भएको हत्याकाण्डका मुख्य अभियुक्त बाराको प्रसौनी गाउँपालिका–१ बस्ने दुखी राउत बरैका ४८ वर्षीय छोरा श्यामबाबु प्रसाद चौरसियालाई जेल चलान गरिएको हो।

घटना विवरण अनुसार, २०६२ असोज ३ गते बिहान अन्दाजी १० बजेको समयमा कलैया उपमहानगरपालिका–१८ मोतिसर टोल बस्ने ४० वर्षीय शीतलप्रसाद चौरसियाको विभत्स हत्या भएको थियो । नारायणी उप–क्षेत्रीय अस्पताल वीरगन्जबाट आफ्नो ड्युटी सकेर घर फर्किने क्रममा शीतल प्रसादलाई जग्गा सम्बन्धी पुरानो रिसइबीका कारण प्रसौनी स्थित दुधौरा खोलाको बगरमा घेरी घाँटी काटेर हत्या गरिएको थियो।

उक्त घटना लगत्तै फरार रहेका चौरसियालाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले यही जेठ १३ गते पक्राउ गरेको थियो। पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान पूरा गरी बारा जिल्ला अदालतमा पेस गरिएको थियो।

अदालतको असार ५ गतेको आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय