कोशी प्रदेशबाट मनसुन भित्रियो, अब देशभर फैलिने तयारी
kalakarmi.com · Sat Jun 20 05:25:38 GMT 2026

काठमाडौं- यस वर्षको मनसुन प्रणाली नेपालमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रवार साँझ जारी गरेको मनसुन आगमन बुलेटिनअनुसार मनसुन कोशी प्रदेशका केही भूभागबाट नेपाल भित्रिएको हो ।
महाशाखाका अनुसार हाल मनसुन कमजोर अवस्थामा रहेको छ र आगामी केही दिनमा देशका अन्य भूभागमा क्रमशः विस्तार हुने सम्भावना छ । नेपालमा मनसुन आगमनको औसत मिति जुन १३ मानिए पनि यस वर्ष मनसुन औसतभन्दा ६ दिन ढिलो गरी जुन १९ मा प्रवेश गरेको जनाएको छ ।
महाशाखाले मनसुन प्रणालीको निरन्तर अनुगमन भइरहेको जानकारी दिँदै मौसमको अवस्थाअनुसार नियमित रूपमा अद्यावधिक सूचना जारी गरिने जनाएको छ। साथै, सर्वसाधारणलाई आगामी दिनमा जारी हुने मौसम बुलेटिन तथा सूचनामा ध्यान दिन आग्रह गरिएको छ।
मनसुन प्रवेशसँगै कोशी प्रदेशका केही क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ भने आगामी दिनमा देशका अन्य भागमा पनि वर्षा गतिविधि बढ्न सक्ने मौसमविद्हरूको अनुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)