"रातो मच्छिन्द्रनाथको भोटो जात्रामा राष्ट्रपति निश्चित, प्रधानमन्त्री शाह जाने-नजाने अझै अन्योल"
barnanmedia.com · Sat Jun 20 06:00:28 GMT 2026

देशकै ऐतिहासिक तथा सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज शनिबार जावलाखेलमा हुँदैछ। परम्पराअनुसार राष्ट्रप्रमुखको उपस्थितिमा हुने यस विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने निश्चित भएको छ।
जात्रा व्यवस्थापन समितिका अनुसार राष्ट्रपति पौडेल बेलुकी साढे ५ बजे जावलाखेल पुगेर भोटो अवलोकन गर्ने कार्यक्रम तय भइसकेको छ। तर, सबैको चासोको केन्द्र बनेका प्रधानमन्त्री बालेन्द्र शाह भने कार्यक्रममा सहभागी हुने वा नहुने भन्ने विषय अझै टुङ्गो लागेको छैन।
समितिले प्रधानमन्त्री शाहसहित संघीय सरकारका मन्त्रीहरूलाई पनि औपचारिक निमन्त्रणा पठाइसकेको भए पनि प्रधानमन्त्रीको सचिवालयबाट हालसम्म कुनै स्पष्ट जवाफ नआएको बताइएको छ।
परम्परागत रूपमा राष्ट्रप्रमुख र सरकार प्रमुख दुवैको उपस्थितिलाई महत्वका साथ हेरिने यस कार्यक्रममा प्रधानमन्त्रीको सम्भावित अनुपस्थितिले विभिन्न अड्कलबाजी सुरु भएको छ। सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको भोटो जात्रामा प्रधानमन्त्री शाह सहभागी हुन्छन् कि हुँदैनन् भन्ने विषय अन्तिम समयसम्म चासोको विषय बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह