पश्चिम अष्ट्रेलियामा एच-५ एन-१ को सङ्क्रमण पुष्टि
gorkhapatraonline.com · Sat Jun 20 06:36:46 GMT 2026

अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा एभियन इन्फ्लुएन्जाको अत्यधिक रोगजनक एच-५ एन-१ स्ट्रेनको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले शनिबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा दक्षिणी पश्चिमी अष्ट्रेलियाको एक राष्ट्रिय निकुञ्जमा जुन १४ मा फेला परेको खैरो स्कुआ (ब्राउन स्कुआ) एच-५ एन-१ सङ्क्रमणका कारण मरेको पुष्टि भएको जानकारी दिनुभयो । यो अष्ट्रेलियामा एच-५ एन-१ स्ट्रेनको पहिलो पुष्टि भएको घटना हो ।
उक्त भाइरस सन् २०२० यता विश्वका विभिन्न क्षेत्रमा फैलिँदै आएको छ र यसका कारण लाखौँ चरा तथा अन्य जनावर मरेका छन् । अधिकारीहरूका अनुसार सङ्क्रमित चरा भेटिएको क्षेत्र नजिकै एक विशाल पेट्रेल चरा बिरामी अवस्थामा फेला परेको छ । उक्त चरालाई क्वारेन्टिनमा राखिएको छ । अष्ट्रेलिया सरकारले सम्भावित प्रकोपको तयारी स्वरूप यसअघि नै ११३ मिलियन अष्ट्रेलियाली डलर विनियोजन गरेको थियो । यस अवसरमा प्रमुख पशुचिकित्सा अधिकारी बेथ कुक्सनले सर्वसाधारणलाई बिरामी वा मृत चराको सम्पर्कबाट टाढा रहन आग्रह गर्नुभएको छ । रासस/सिन्ह्वा
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)