उदयपुरमा स्कुल बस दुर्घटना, एकजनाको मृत्यु
baahrakhari.com · Sat Jun 20 07:07:28 GMT 2026

काठमाडौं । उदयपुरमा शैक्षिक भ्रमणमा रहेका दिपज्योति एजुकेसन इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
महोत्तरीको बर्दिवासबाट शैक्षिक भ्रमणको लागि गाईघाटतर्फ जाँदै गरेको उक्त बस उदयपुरको उदपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी लोकमार्गअन्तर्गत अँधेरी जोगीटोलमा आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा ३२ जना घाइते भएका छन् । सो बसमा अभिभावक, शिक्षक र विद्यार्थी गरी ३५ जना सवार थिए । उपचारको क्रममा एकजना शिक्षकको मृत्यु भएको छ ।
घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । उनीहरूमध्ये गम्भीर घाइते दुईजनालाई थप उपचारको लागि विराटनगर पठाइएको सशक्त प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
#दुर्घटना
#मृत्यु
#स्कुल बस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ