मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखापत्रकर्मी यादवमाथि आक्रमण

gorkhapatraonline.com · Sat Jun 20 07:10:17 GMT 2026

नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य, प्रेस स्वतन्त्रता सेनानी एवं गोरखापत्र सप्तरी समाचारदाता देवराम यादवमाथि आक्रमण भएको छ। बाटोसम्बन्धी समाचार लेखेपछि महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितको समूहले शनिबार विहान पत्रकार यादवमाथि आक्रमण गरेको हो।

महादेवा गाउँपालिकास्थित हुलाकी राजमार्ग अन्तर्गत खाँडो पुलमा कुरा गरिरहेको अवस्थामा सुरेन्द्र यादवसहितको टोलीले हेल्मेटले पत्रकार यादवलाई कुटपीट गरेको नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यवाहक सचिव डम्बर राईले बताउनुभयो । महासंघले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि भएको कुटपिटको घटनाको भर्त्सना गर्दै यसलार्इ प्रेस स्वतन्त्रतामाथिको आक्रमणको रुपमा लिदै यस्ता आपराधिक गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने स्पष्ट पारेको छ।

विज्ञप्तिमा नागरिकको सुरक्षा, बाँच्न पाउने अधिकार तथा व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने कार्यको कडा विरोध गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न महासंघले स्थानीय प्रशासन र नेपाल सरकारसँग माग गरेको छ । कुटपिटबाट घाइते भएका पत्रकार यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचारको उचित व्यवस्था मिलाउन सम्बन्धित निकायसँग महासंघले आग्रह गरेको छ ।

महासंघले दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अगाडि नबढाइए कडा संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)