कामपाद्वारा खेलकुदको विकासका लागि ३ ठूला प्रतियोगिता सञ्चालन गर्न सम्झौता
makalukhabar.com · Wed May 27 11:50:43 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खेलकुद विकास तथा प्रवर्द्धनका लागि विभिन्न संघसंस्थाहरुसँग प्रतियोगिता सञ्चालन गर्न सम्झौता गरेको छ ।
महानगरले बुधवार एक कार्यक्रमका बीच खेलकुदसम्बन्धी तीन ठूला प्रतियोगिता सञ्चालन गर्न सम्झौता गरेको हो ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोको उपस्थितिमा नेपाल पौडी सङ्घ, काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घ र बागमती प्रदेश क्रिकेट सङ्घसँग सम्झौता गरिएको हो । सम्झौताअनुसार नेपाल पौडी सङ्घले महानगरपालिका मेयर कप पौडी प्रतियोगिता सञ्चालन गर्नेछ ।
काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घले वडा स्तरीय व्याटमिन्टन प्रतियोगिता सञ्चालन गर्ने तथा बागमती प्रदेश क्रिकेट सङ्घले टी–२० पीएल सिंह कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्नेगरि सम्झौता भएको हो ।
महानगरका सामाजिक विकास समिति संयोजक रामकुमार केसीले महानगरभित्र लुकेका प्रतिभालाई पहिचान गरेर अगाडि ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार नेपालमा क्रिकेटसहित विभिन्न खेलको प्रदर्शन उत्साहजनक रहेको छ । महानगरपालिकाले गर्ने गतिविधिलाई देशभरबाट चासोका साथ हेर्ने भएकोले खेल क्षेत्रको विकासका लागी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको जानकारी दिए ।
उनले भने ‘नेपालमा हाल क्रिकेट लगायतका खेलहरूले राम्रो प्रदर्शन गरिरहेको छ । हामीले काठमाडौँ महानगरपालिकाभित्र लुकेर बसेका खेल प्रतिभाहरूलाई खोजेर अगाडी बढाउनुपर्छ । महानगरपालिकाले सबै खेलहरूलाई प्रोत्साहनको लागी पुरस्कार समेत दिँदै आएका छौँ । नेपालभर नै महानगरले के गर्छ भनेर हेरिरहेको छ, हामीले काम अगाडी बढाएपछि नेपाल सरकारले खेलाडीलाई सम्मान गरेको छ ।’
महानगरपालिकाले स्थानीय तहबाटै खेलकुद संरचना बलियो बनाउँदै युवालाई खेलतर्फ आकर्षित गर्ने जनाएको छ । सोही लक्ष्यअनुसार आगामी दिनमा थप प्रतियोगिता र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)