हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल
emountaintv.com · Sat Sep 12 06:43:54 GMT 2026

काठमाडौँ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताउनुभएको छ ।काठमाडौंमा शनिवार आयोजित काष्ठमण्डप संवादको तेस्रो श्रृंखलामा बोल्दै खनालले यस्तो बताउनुभएको हो । यस्ता विपद् विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएको भन्दै हिमाली जोखिम न्युनिकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भयो । नेपाल र चीनबीचको सम्बन्धमा चीनलाई समृद्धि र संकट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै खनालले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गर्नुभयो । उहाँकले नेपालले एक चीन नीतिप्रतिको प्रविबद्धता कायम राख्नुपर्ने र नेपालको भूमि चीनविरुद्ध हुने कुनैपनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो । भोटेकोशीको आकस्मिक बाढीका सम्बन्धमा चीनले पूर्वसूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाउनु भयो । उहाँले यस्ता आरोप तथ्यमा आधारित नभएको बताउनु भयो । हिमाली क्षेत्रमा हुने विपद्लाई नेपालभित्रको मात्र विषयका रूपमा हेर्न नहुने भन्दै उहाँले जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको व्यापक सन्दर्भमा यस्ता घटनाको अध्ययन गर्नुपर्ने बताउनु भयो । खनालकाअनुसार विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्युन भएपनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोगिरहेको छ । त्यसैले नेपालले जल तथा मौसमसम्बन्धी सूचना आदानप्रदान, विपद् पूर्वतयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमको सामना गर्न नेपाल, चीनसहित क्षेत्रीय तथा विश्व समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)