जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रंगशाला बन्ने
ratopati.com · Sat Jun 20 07:38:52 GMT 2026

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य सुरु हुने बताएका छन्।
मधेस खेलकुद परिषद्द्वारा जनकपुरधाममा आयोजित ‘नेकोस कप’ राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिएका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस सरकार रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणको विषयमा गम्भीर रहेको बताए। उनका अनुसार आगामी आर्थिक वर्षमा २ सय ५६ करोड रुपैयाँको लागतमा रंगशालाको निर्माण कार्य सुरु गरिनेछ।
यस पटकको बजेटमा प्रदेश सरकारले क्रिकेट लगायत समग्र खेलकुद क्षेत्रको विकासका लागि विशेष योजनाहरू ल्याउन लागेको उनले स्पष्ट पारे। साथै, प्रदेशका आठवटै जिल्लामा रहेका खेलकुद मैदानहरूको स्तरोन्नति गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
सोही अवसरमा मधेस खेलकुद परिषद्का सदस्यसचिव शिवजी यादवले प्रदेशका युवाहरूलाई खेलकुदमा जोड्दै यस क्षेत्रलाई व्यवसायीकरण गर्ने लक्ष्य रहेको बताए। खेलकुद क्षेत्रको विकासले नै राज्यको समृद्धिको आधार तयार गर्ने उल्लेख गर्दै उनले मधेसलाई ‘खेलकुदमय प्रदेश’ बनाउन परिषद् प्रतिबद्ध रहेको उल्लेख गरे।
शनिबारदेखि सुरु भएको नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेस, कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपीएफ गरी कुल आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताका खेलहरू जनकपुरधाम र वीरगञ्जमा सञ्चालन हुनेछन् भने फाइनल खेल वीरगञ्जमा आयोजना गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मधेस प्रदेश
टी-२० विश्वकप
जय ट्रफी