रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण आगामी वर्षदेखि सुरु हुने
kathmandupati.com · Sat Jun 20 07:58:22 GMT 2026

काठमाण्डु – आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य सुरु हुने भएको छ।
मधेस खेलकुद परिषद्द्वारा जनकपुरधाममा आयोजित नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको शनिबार उद्घाटन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले यस्तो जानकारी दिएका हुन्।
मुख्यमन्त्री यादवले मधेस सरकार रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणको विषयमा गम्भीर रहेको बताए। उनका अनुसार आगामी आर्थिक वर्षमा २ सय ५६ करोड रुपैयाँको लागतमा रंगशालाको निर्माण कार्य शुरु गरिनेछ।
यस पटकको बजेटमा प्रदेश सरकारले क्रिकेट लगायत समग्र खेलकुद क्षेत्रको विकासका लागि विशेष योजनाहरू ल्याउन लागेको उनले स्पष्ट पारे। साथै, प्रदेशका आठ वटै जिल्लामा रहेका खेलकुद मैदानहरूको स्तरोन्नति गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेस, कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपीएफ गरी कुल आठ टोलीको सहभागिता छ।
प्रतियोगिताका खेलहरू जनकपुरधाम र वीरगञ्जमा सञ्चालन हुनेछन् भने फाइनल खेल वीरगञ्जमा आयोजना गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)
मधेस प्रदेश
जय ट्रफी