विद्यार्थीले छाने आफ्नो नेता आफैँ
nagariknews.nagariknetwork.com · Sat Jun 20 08:04:26 GMT 2026

लोकतान्त्रिक मूल्य, मान्यता र निर्वाचन संस्कृतिको व्यावहारिक अभ्यास गराउने उद्देश्यले भक्तपुर–२, मिबाछेँस्थित एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन गराई आफ्ना नेता आफैँ छनोट गराएको छ।
विद्यालयका चार सदन भानु, लक्ष्मी, लेखनाथ र मोतीका क्याप्टेन तथा भाइस क्याप्टेन चयनका लागि निर्वाचन गराइएको थियो। निर्वाचन कार्यक्रमले राष्ट्रिय निर्वाचन प्रक्रियाको झल्को दिएको थियो। लोकतान्त्रिक चेतना, नेतृत्व विकास, सामूहिक कार्यभावना र सहकार्यको संस्कृति अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको निर्वाचनमा कक्षा ६ देखि १० सम्मका ५९६ विद्यार्थी मतदाताका रूपमा सहभागी भएका थिए।
निर्वाचनमा उम्मेदवारको नाम दर्ता, चुनाव चिह्न वितरण, प्रचारप्रसार, मतदान तथा मतगणनालगायत सम्पूर्ण प्रक्रिया विधिसम्मत र औपचारिक ढङ्गबाट सम्पन्न गरिएको विद्यालयले जनाएको छ। चुनावी अभियानका क्रममा उम्मेदवार तथा सदनका सदस्यहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। मतदानअघि मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी मतदान प्रक्रिया, मत बदर हुन सक्ने अवस्था, निर्वाचन आचारसंहिता तथा स्वस्थ प्रतिस्पर्धाको महत्वबारे जानकारी प्रदान गरिएको थियो।
निर्वाचन व्यवस्थापनको विशेष पक्षका रूपमा प्रमुख निर्वाचन आयुक्त, मतदान अधिकृत, पर्यवेक्षक तथा सुरक्षाकर्मीलगायतका सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूले नै निर्वाह गरेका थिए। मतदानको अघिल्लो दिन मतदाता परिचयपत्र वितरण गरिएको थियो।
बिहान ११ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण, मर्यादित र अनुशासित वातावरणमा सम्पन्न भएको थियो। मतदानपश्चात् मतपेटिका सिलबन्दी गरी विद्यालयका प्रिन्सिपल, प्रशासकीय प्रमुख, सहायक प्रिन्सिपल, पर्यवेक्षक तथा उम्मेदवार प्रतिनिधिको रोहवरमा मतगणना गरिएको थियो। निर्वाचनमा ८ पदका लागि २० जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजराजभण्डारीले प्रमाणपत्रसहित बधाई तथा सम्मान प्रदान गरेका थिए। सो अवसरमा निर्वाचित प्रतिनिधिहरूले विद्यालयको मूल्य, मान्यता र अनुशासनको पालना गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने शपथसमेत लिएका थिए।
विद्यालय प्रशासनले यस प्रकारको निर्वाचन अभ्यासले विद्यार्थीहरूमा नागरिक जिम्मेवारीबोध, नेतृत्व क्षमता तथा लोकतान्त्रिक संस्कार विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
निर्वाचन कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा संयोजन माध्यमिक तह संयोजक निरण मानन्धरको नेतृत्व तथा सामाजिक अध्ययन विभागका शिक्षकहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)