बागमतीले बगाएर एक बालक बेपत्ता, तीन जना सकुशल
gorkhapatraonline.com · Sat Jun 20 08:27:02 GMT 2026

सर्लाहीको बागमती नगरपालिका–७, मा बागमतीखोलाले बगाएर एक बालक बेपत्ता भएका छन् भने अन्य तीन जना भने सकुशल बाहिर निस्कन सफल भएका छन् ।
बागमतीखोलामा पौडी खेल्न गएका बागमती नगरपालिका ७ का सरगम माझीका छोरा ६ वर्षीय सफल माझी बाढीले बगाएर बेपत्ता भएका हुन् । बालक शुक्रबार साँझदेखि बागमतीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसप) वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
डिएसपी गौतमका अनुसार बालक नदीले बगाएर बेपत्ता भएकोबारे शनिबार बिहान ६:३० बजेतिर मात्र प्रहरीमा खबर प्राप्त भएको थियो । बेपत्ता बालकको खोजीका लागि शनिबार बिहानैदेखि स्थानीय वासिन्दा, प्रहरी चौकी राजघाट, इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी र सशस्त्र प्रहरी परिचालन भइरहेका डिएसपी गौतमले बताउनुभयो ।
सफलसँगै पौडी खेल्न गएका अन्य तीन बालक भने सकुशल बाहिर निस्किएर शुक्रबार साँझ नै घर फर्किएका छन् । बर्खा लागेर बागमतीनदीसहित जिल्लाका अन्य खोला, खोल्सामा अकास्मत् बाढी आउन थालेकाले सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)