बूढानीलकण्ठ बन्यो राष्ट्रिय महिला बास्केटबलको च्याम्पियन
baahrakhari.com · Sat Jun 20 08:29:39 GMT 2026

काठमाडौं । १०औँ राष्ट्रिय महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बूढानीलकण्ठ नगरपालिकाले जितेको छ । बूढानीलकण्ठ ग्रान्डी स्टार्सलाई ५०–३७ ले हराउँदै च्याम्पियन बनेको हो ।
सुरुआतदेखि नै खेलमा अग्रता लिएको बूढानीलकण्ठले हाफटाइमसम्म २७–१३ को फराकिलो अग्रता बनाएको थियो । ग्रान्डी स्टार्सले पुनरागमनको प्रयास गरे पनि सुरुआती अग्रता नै बूढानीलकण्ठको जितमा निर्णायक बन्यो । बूढानीलकण्ठले १३–६, १४–७, १३–१४ र १०–१० को प्रदर्शन गर्यो ।
प्रतियोगिताको विजेता बूढानीलकण्ठले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो । उपविजेता ग्रान्डी स्टार्सले ३० हजार रुपैयाँ पुरस्कार पायो ।
च्याम्पियन टिमकी अनुसा मल्ल मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन् ।
उदीयमान टोली बनेको सुनसरी बास्केटबल एसोसिएसनले पनि १० हजार रुपैयाँ पायो । उपत्यकाबाहिरबाट सहभागी टिमको उदीयमान खेलाडी अन्नपूर्ण बास्केटबल एसोसिएसनकी निर्बिति शर्मा बनिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।
नेपाल बास्केटबल संघ (नेबा)को आयोजनामा भएको प्रतियोगितामा उपत्यकाबाहिरको तीनसहित कुल आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपका निम्ति राष्ट्रिय टिम छनोटको आधार समेत रहेको बास्केटबल संघले जनाएको छ ।
#च्याम्पियन
#बूढानीलकण्ठ नगरपालिका
#महिला बास्केटबल
#उपाधि
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)