स्वीडेनको नजर राउन्ड अफ ३२ मा, पहिलो जितको खोजीमा नेदरल्यान्ड्स
onlinekhabar.com · Sat Jun 20 08:30:22 GMT 2026

५ असार, काठमाडौं । नेदरल्यान्ड्स र स्वीडेनबिच फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत ह्युस्टनस्थित एनआरजी स्टेडियममा आज रोमाञ्चक भिडन्त हुँदैछ ।
पहिलो खेलमा ट्युनिसियालाई ५–१ को भारी अन्तरले पराजित गर्दै स्वीडेन समूहको शीर्ष स्थानमा छ भने जापानसँग २–२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्स आज जित्नैपर्ने दबाबमा मैदान उत्रँदै छ ।
खेल पण्डितहरूले अझै पनि डच टोलीको खेलाडी गहिराइलाई बलियो मानेका भए पनि पहिलो खेलमा रक्षात्मक कमजोरी देखाएको नेदरल्यान्ड्सका लागि स्वीडेनको आक्रामक जोडीलाई रोक्न ठुलो चुनौती हुनेछ ।
हेड टु हेड र पछिल्लो लय
यी दुई राष्ट्रबीच फुटबल इतिहासमा यसअघि २५ पटक खेल भएका छन् । धेरैजसो मैत्रीपूर्ण खेल र छनोट खेलहरूमा प्रतिस्पर्धा भएको छ । नेदरल्यान्ड्सले १२ खेल जित्दा स्वीडेनले ८ खेल जितेको छ । ५ खेल बराबरीमा सकिएका छन् ।
समग्र इतिहासमा नेदरल्यान्ड्सको पल्ला भारी रहे पनि पछिल्लो समय उनीहरूबीच कुनै ठुलो र उल्लेखनीय प्रतिस्पर्धात्मक खेल भएको छैन । त्यसैले पुरानो इतिहासभन्दा पनि यो खेल दुवै टोलीको हालको लय र प्रदर्शनका आधारमा तय हुने देखिन्छ ।
नेनरल्यान्ड्सले पछिल्ला ५ खेलमा २ जित, २ बराबरी र १ हारको नतिजा निकालेको छ । स्वीडेनले भने ३ जित, १ हार र १ बराबरीको नतिजा निकालेको छ । स्वीडेन विजयी भएमा राउन्ड अफ ३२ मा प्रवेश गर्नेछ ।
टिम न्यूज
नेदरल्यान्ड्सको टोलीमा हाल कुनै चोटको समस्या छैन, तर मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले जापानविरुद्धको कमजोरी सच्याउन रक्षापङ्क्तिमा केही फेरबदल गर्न सक्नेछन् ।
मिडफिल्डमा फ्रेन्की डे जोङ, रायन ग्राभेनबर्च र तिजानी रेइन्डर्सको त्रिकोणात्मक जोडी नै टोलीको मुख्य खम्बाको रूपमा रहनेछ ।
अर्कोतर्फ, स्वीडेनका मुख्य प्रशिक्षक ग्राहम पोटरले पहिलो खेलमा उत्कृष्ट चलेको तीन डिफेन्डरको प्रणालीलाई नै निरन्तरता दिने सम्भावना छ ।
पहिलो खेलमा मांसपेसी बाझिएर समस्यामा परेका ग्याब्रिएल गुडमन्डसन पूर्ण रूपमा फिट हुँदै देब्रे विङ्गरको भूमिकामा फर्कने अपेक्षा गरिएको छ । रक्षापङ्क्तिको कमान्ड भिक्टर लिन्डेलोफले सम्हाल्नेछन् ।
डच टोलीले आफ्नो बलियो मिडफिल्डमार्फत बल नियन्त्रणमा राख्दै खेलको गति तय गर्नेछ । उनीहरू कोडी गाक्पो र डोनी म्यालेन जस्ता तीव्र गतिका विङ्गरहरू प्रयोग गरेर स्वीडेनको रक्षापङ्क्तिलाई दबाबमा राख्ने रणनीतिमा उत्रनेछन् ।
उनीहरूका लागि मुख्य चुनौती स्वीडेनको प्रतिआक्रमण रोक्नु हुनेछ । स्वीडेन बल नियन्त्रणमा राख्नु भन्दा पनि आफ्नै हाफमा कसिलो रक्षापङ्क्ति बनाएर बस्न रुचाउँछ । उनीहरूको मुख्य बलियो पक्ष नै बल खोसेर तीव्र गतिमा अलेक्ज्याण्डर इसाक र भिक्टर ग्योकेरेसलाई पास निकाल्नु हो ।
डच डिफेन्सको सानो गल्तीमा पनि यो जोडी निकै घातक बन्न सक्छ ।
प्लेयर्स टु वाच
नेदरल्यान्ड्स
फ्रेन्की डे योङ : उनी डच टोलीको मिडफिल्डका मुख्य मेरुदण्ड हुन् । उनले रक्षापङ्क्तिबाट बल नियन्त्रणमा लिँदै आक्रमणको दिशा र खेलको गति तय गर्छन्, जसले गर्दा डच टोलीको ‘बल पसेसन’ रणनीति उनीमै बढी निर्भर रहन्छ ।
भर्जिल भान डाइक: डच टोलीका कप्तान तथा विश्व फुटबलकै प्रभावशाली डिफेन्डर भान डाइकको नेतृत्व र काउन्टर अट्याक विफल पार्ने क्षमता स्वीडेनको खतरनाक अग्रपङ्क्तिलाई रोक्न डच टोलीका लागि सबैभन्दा महत्त्वपूर्ण हतियार हुनेछ ।
कोडी गाक्पो: गाक्पो बायाँ विङबाट खेल खेल्ने तीव्र गतिका आक्रामक खेलाडी हुन् । डिफेन्स लाइन तोड्न र डि बक्स भित्रबाट प्रहार गर्न माहिर गाक्पो स्वीडेनको तीन डिफेन्डरको प्रणालीलाई भत्काउन मुख्य भूमिकामा देखिनेछन् ।
स्वीडेन
भिक्टर ग्योकेरेस : उनी हाल विश्व फुटबलकै सबैभन्दा उत्कृष्ट फर्ममा रहेका स्ट्राइकर हुन् । पहिलो खेलमा ट्युनिसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ग्योकेरेस आफ्नो शारीरिक शक्ति र सटिक फिनिसिङका कारण डच टोलीका लागि मुख्य चुनौती बन्नेछन् ।
अलेक्ज्याण्डर इसाक : इसाक आफ्नो तीव्र गति र उत्कृष्ट ड्रिब्लिङ क्षमताका लागि चिनिने अग्रपङ्क्तिका स्टार हुन् । काउन्टर अट्याकमा उनी निकै खतरनाक साबित हुन्छन् र डच डिफेन्सको सानो गल्तीमा पनि गोल निकाल्न सक्छन् ।
भिक्टर लिन्डेलोफ : उनी स्वीडेनको रक्षापङ्क्तिका सबैभन्दा अनुभवी खेलाडी हुन् । टोलीको तीन डिफेन्डरको प्रणालीमा मुख्य खम्बाको रूपमा रहने लिन्डेलोफसँग डच टोलीका विश्वस्तरीय स्ट्राइकरहरूलाई रोक्ने र रक्षापङ्क्तिबाटै खेललाई अगाडि बढाउने महत्त्वपूर्ण जिम्मेवारी हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)