मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतमा रहेको मेस्सीको 'स्ट्याचु' हटाइने

nagariknews.nagariknetwork.com · Wed May 27 13:03:12 GMT 2026

भारतको पश्चिम बंगालको पूर्वी शहर कोलकातामा रहेको फुटबल सुपरस्टार लियोनेल मेस्सीको विशाल मूर्ति हटाइने भएको छ।

गत वर्ष मेस्सीको भारत भ्रमणको अवसरमा निर्माण गरिएको २१ मिटर (७० फिट) अग्लो गोल्डेन मूर्तिलाई हटाइने भएको भारतका एक सांसदले एएफपीलाई बताएका छन्।

मेस्सीको विशाल मूर्ति हावाले पनि हल्लिने भएपछि यसलाई सुरक्षाको कारण हटाउन लागिएको उनले बताए।

३८ वर्षीय अर्जेन्टिना र इन्टर मियामीका खेलाडी मेस्सीको भारत भ्रमणको क्रममा ‘विश्वकप ट्रफी उठाएको’ मूर्ति अनावरण गरिएको थियो।

पश्चिम बंगाल राज्यका विधायक शरदवत मुखर्जीले भने, ‘कोलकाता शहरमा रहेको अर्जेन्टिनाका सर्वकालिन फुटबलरको मूर्ति पश्चिम बंगाल सरकारका इन्जिनियरहरूले असुरक्षित पाएका थिए। मूर्ति हावामा हल्लिरहेको छ। अब यसलाई हटाइन्छ।’

मूर्ति हल्लिरहेपछि बुधबार कामदारहरूले डोरीले बाँधेर राखेका थिए। यो जतिबेलापनि ढल्न सक्ने विधायक मुखर्जीले बताए। ‘हामी सकेसम्म चाँडो मूर्ति हटाउने योजनामा छौं’, उनले भने।

यो मूर्तिको स्थानमा अर्को ठाउँमा पुनः निर्माण गरिनेबारे भने उनले केहि बताएनन्।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)