मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सय दिनमा सय काम’ नारामै सीमित भयो, छलफलसम्म भएन : प्रदीप पौडेल

onlinekhabar.com · Sat Jun 20 09:10:29 GMT 2026

६ असार, काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ‘सय दिनमा सय काम’ कार्यक्रम कार्यान्वयनमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् ।

शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दल कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफैंले तय गरेका सय कामबारे सरकारले छलफलसमेत नगरेको आरोप लगाए ।

‘सय दिनमा सय काम भन्नुभयो, त्यो सय काम पूरा हुनु त धेरै परको कुरा हो,’ महामन्त्री पौडेलले भने, ‘ती सयवटा काम जुन उहाँहरू आफैंले तोक्नुभएको थियो, त्यसमा छलफलसम्म पनि भएन ।’

सरकारले महत्वाकांक्षी घोषणा गर्नुको सट्टा सीमित तर कार्यान्वयनयोग्य लक्ष्य तय गरेर पूरा गरेको भए राम्रो हुने उनको भनाइ थियो ।

‘सरकारले सय दिनमा सय काम भन्यो । उहाँहरूले सय दिनमा १० काम भनेर पूरा गरेको भए हुन्थ्यो ।’

महामन्त्री पौडेलले कांग्रेसले सरकारका गतिविधिलाई नजिकबाट नियालिरहेको पनि बताए । उनका अनुसार कांग्रेसले मन्त्रालयगत संयोजकहरू तोकेर मन्त्रिपरिषद्का निर्णय, सरकारका काम–कारबाही तथा मन्त्रालयगत गतिविधिको नियमित अनुगमन, अध्ययन र विश्लेषण गर्दै आएको छ ।

महामन्त्री पौडेलले सरकारका कार्यसम्पादनप्रति कांग्रेसले निरन्तर निगरानी गरिरहेको र आवश्यक विषयमा संसद् तथा सार्वजनिक मञ्चमार्फत खबरदारी गरिरहने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय