मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आठ वर्षपछि खुल्दै जुम्ला बसपार्क : जग्गा विवाद समाधानसँगै असार १० देखि सञ्चालन हुने

nagariknews.nagariknetwork.com · Sat Jun 20 09:08:54 GMT 2026

निर्माण सम्पन्न भएको झण्डै आठ वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बसपार्क अन्ततः सञ्चालनमा आउने भएको छ। लामो समयदेखि जग्गा व्यवस्थापनसम्बन्धी विवादका कारण प्रयोगविहीन बनेको बसपार्क आगामी असार १० गतेदेखि सञ्चालनमा ल्याइने निर्णय गरिएको हो।

२०७६ सालमा करिब १ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त बसपार्कमा भवन, नाला, पार्किङ क्षेत्र, टिकट काउन्टर र शौचालयलगायत आवश्यक पूर्वाधार तयार भए पनि सेवा सञ्चालन हुन सकेको थिएन। बसपार्कसम्म पुग्ने पहुँचमार्गमा सात जना जग्गाधनीको निजी जग्गा परेपछि विवाद उत्पन्न भएको थियो।

बसपार्क सञ्चालनमा नआउँदा जुम्लाको सदरमुकाम खलंगा क्षेत्र नै अस्थायी पार्किङस्थलका रूपमा प्रयोग हुँदै आएको थियो। लामो तथा छोटो दूरीका बस, ट्रक, जीप, टिपर र अटो सडक किनारमै पार्किङ हुँदा बजार क्षेत्रको यातायात व्यवस्थापन प्रभावित भइरहेको थियो।

बसपार्क सञ्चालनका विषयमा बिहीबार चन्दननाथ नगरपालिका–६ का वडा अध्यक्ष रवि थापाको अध्यक्षतामा यातायात व्यवसायी, जग्गाधनी तथा सरोकारवालाबीच बसेको बैठकले असार १० गतेदेखि छिनासिमस्थित बसपार्कबाट सबै सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको हो।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार बसपार्क क्षेत्रको जग्गा व्यवस्थापन तथा यातायात सञ्चालनसँग सम्बन्धित विषयमा जग्गाधनी र व्यवसायीबीच सहमति जुटेपछि सञ्चालनको बाटो खुलेको हो।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का, प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जग्गाधनी तथा यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो।

बैठकले मुख्य सडकदेखि बसपार्कसम्म जाने पहुँचमार्गको जग्गा व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाउने, सञ्चालनका क्रममा देखिने समस्या समाधान गर्न नगरपालिकाले सहजीकरण समिति गठन गर्ने, सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने तथा जग्गाधनीहरूले सञ्चालनमा अवरोध नगर्ने निर्णय गरेको छ।

त्यसैगरी बसपार्क क्षेत्रमा सुरक्षा, खानेपानी, शौचालयलगायत आधारभूत सेवा सुनिश्चित गर्न चन्दननाथ नगरपालिकाले आवश्यक सहयोग गर्ने सहमति पनि भएको छ।

३ हजार ३ सय ६५ वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त बसपार्कको जग्गा चन्दननाथ नगर विकास समितिको नाममा रहेको छ। लामो समयदेखि प्रयोगमा आउन नसकेको बसपार्क सञ्चालनमा आएपछि सदरमुकाम क्षेत्रको अव्यवस्थित पार्किङ नियन्त्रण हुनुका साथै यातायात सेवा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)