पत्रकारिता लोकतन्त्रको मेरुदण्ड : प्रदेश प्रमुख मियाँ
gorkhapatraonline.com · Sat Jun 20 09:49:21 GMT 2026

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले लोकतन्त्रको स्थापना, संरक्षण र सुदृढीकरणमा पत्रकारिता क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको पाँचौँ साधारणसभाको धनगढीमा उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले पत्रकारिता क्षेत्रले लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न योगदान पुर्याएको उल्लेख गर्नुभयो ।
पत्रकार नभएको भए मुलुकमा लोकतन्त्रको स्थापना र विकासको यात्रा कठिन हुने उहाँको भनाई थियो । उहाँले पत्रकारिता क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै सुदूरपश्चिमको प्राकृतिक, भौगोलिक र पर्यटकीय सम्भावनाको प्रचारप्रसारमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी रहेको बताउनुभयो ।
पत्रकारिता क्षेत्रलाई लोकतन्त्रको मेरुदण्ड भएको बताउदै उहाँले समाजलाई सही दिशामा डोर्याउने कार्यमा पत्रकारहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गर्नुभयो ।
लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको उहाँको भनाइ थियो । कार्यक्रममा प्रमुख मियाँले पत्रकारिता क्षेत्रले समाजमा सुशासन, पारदर्शिता र जवाफदेहिताको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सम्पन्न साधारणसभामा पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका अग्रज पत्रकारहरूलाई सम्मान गरिएको थियो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष नीतु पण्डितले विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनहरूमा पत्रकारहरूले खेलेको भूमिकाको स्मरण गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
साधारणसभामा सुदूरपश्चिमका ९ जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकारिता क्षेत्रका चुनौती, पेशागत सुरक्षा,प्रेस स्वतन्त्रता तथा पत्रकारहरूको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गरिएको थियो । प्रदेश अध्यक्ष भरत शाहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव शिबराज भट्टले गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)