आङ्देम्बेको नेतृत्वमा पहिलो संसदीय दल बैठक, थप सक्रिय हुने कांग्रेसको प्रतिबद्धता
onlinekhabar.com · Sat Jun 20 09:58:34 GMT 2026

६ असार, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसले पहिलो पटक संसदीय दल कार्यसमितिको बैठक गरेको छ । सांसद भीष्मराज आङ्देम्बे दलको नेता चयन भएको ५५ औं दिनमा संसदीय दल कार्यसमितिको बैठक बसेको हो ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४ वैशाखमा आङ्देम्बेलाई दलको नेता चयन गरेको थियो ।
दलको नेता चयन भएपछि उनले पहिलो पटक संसदीय दल कार्यसमितिको बैठक बोलाएका हुन् । बैठकमा सहभागी महामन्त्री प्रदीप पौडेलका अनुसार आङ्देम्बेको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकपछि उपनेता अभिशेष प्रताप शाहले संसदीय गतिविधि र पार्टीका तर्फबाट उठाइएका विषयमा सरकारले ध्यानबारे समीक्षा गरिएको जानकारी दिए ।
‘अहिलेसम्मका हाम्रा संसदीय गतिविधि र हामीले उठाएका विषयहरू कति प्रभावकारी भए, सरकारले त्यसमा कति ध्यान दियो भनेर समीक्षा बैठक गरेका हौं,’ उनले भने ।
उपचेता शाहले बैठकबाट थप थप ऊर्जाका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको पनि जानकारी दिए । उनले कांग्रेस सांसदहरूले जनताका विषयहरू पटक पटक संसद्मा उठाइरहेका पनि बताए ।
महामन्त्री पौडेलले बैठकमा सरकारले सय दिनभित्र गर्ने कामका लागि गरेको प्रतिवद्धताको समीक्षा गरिएको जानकारी दिए ।
सांसदहरूले राष्ट्रिय महत्वका विषयमा संसद्मा उठान गर्ने जनजीविकाका विषय कसरी प्रस्तुत गर्ने भन्नेबारे पनि छलफल भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ