विश्वकपमा आज निर्णायक खेल, जर्मनी र स्विडेनलाई अन्तिम ३२ मा पुग्ने अवसर
nepalnews.com · Sat Jun 20 10:50:04 GMT 2026

लस एन्जलस। विश्वकप फुटबलअन्तर्गत शनिबारका खेलमा बलियो स्थितिमा रहेको जर्मनीले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ। स्विडेनले नेदरल्यान्ड्ससँग महत्त्वपूर्ण खेल खेल्नेछ। यी खेलको नतिजाले अन्तिम ३२ मा पुग्ने टोलीको टुंगो लाग्नेछ।
समूह ‘ई’ अन्तर्गत रहेको जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकप खेलमा पहिलोपटक सहभागी भएको कुराकाओलाई ७-१ ले पराजित गरेको थियो। यदि जर्मनीले आइभरी कोस्टलाई पराजित गरी इक्वेडरले अर्को खेलमा जित निकाल्न असफल भए जर्मनी समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गर्नेछ।
जर्मनीका प्रशिक्षकले आइभरी कोस्टको गति र एथलेटिक क्षमताप्रति विशेष सावधानी अपनाउनुपर्ने बताएका छन्। विशेषगरी आइभरी कोस्टका ‘विंगर’ निकोलस पेपेप्रति ध्यान केन्द्रित गरिएको छ।
यसै समूहमा आइभरी कोस्टले जर्मनीलाई हराए अर्को चरणमा स्थान सुरक्षित गर्न सक्ने सम्भावना छ।
अर्को खेलमा स्विडेनले नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्नेछ। जित निकाले स्विडेनले नकआउट चरणमा स्थान सुरक्षित गर्नेछ। स्विडेन हाल अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै प्रतियोगितामा अगाडि बढिरहेको छ।
स्विडेनका प्रशिक्षक ग्राहम पोटरले ‘स्ट्राइकर’ अलेक्जेन्डर इसाक आगामी खेलमा अझ प्रभावकारी हुँदै जाने बताएका छन्। इसाकले हालसम्मको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल र दुई गोलमा सहयोगी भूमिका निर्वाह गरेका छन्।
शनिबारकै अर्को ऐतिहासिक खेलमा जापानले ट्युनिसियासँग विश्वकपको एक हजारऔँ खेलका रूपमा प्रतिस्पर्धा गर्नेछ।
यसअघि शुक्रबारका खेलहरूमा सह-आयोजक अमेरिकाले अस्ट्रेलियालाई २-० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। समूह ‘डी’ मा शीर्ष स्थान हासिल गरेसँगै अमेरिका नकआउट चरणमा सहज मार्गतर्फ अघि बढेको छ।
त्यस्तै ब्राजिलले हाइटीलाई ३-० ले हराउँदै समूह ‘सी’ मा आफ्नो स्थिति बलियो बनाएको छ भने मोरोक्कोले स्कटल्यान्डलाई १-० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। विश्वकपको समूह चरण रोमाञ्चक मोडमा पुगेको छ। आगामी खेलहरूले ‘नकआउट’ चरणका धेरै समीकरण स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)