जिद्दी हर्क : आफूले भनेको नभएपछि संसदबाट झोला बोकेर हिँड्छन्
shilapatra.com · Wed May 27 15:32:00 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबार पनि संसद बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'लाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक पनि बहिष्कार गरेका हुन् । साम्पाङको संसद बहिष्कार पहिलोपटक भने होइन ।
उनी नेतृत्वको पार्टीले ७ जेठको प्रतिनिधिसभाको बैठक सभामुख अर्यालले पेलेरै चलाएपछि संसद बहिष्कार गरेको थियो । बुधबार अध्यक्ष साम्पाङले बहिष्कार गरे पनि पार्टीका अन्य सांसदहरूले भने बैठक बहिष्कार गरेका थिएनन् ।
बुधबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै साम्पाङले आफूलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम बैठकबाट बाहिर निकाल्न वा बालेनलाई संसदमा उपस्थित गर्न रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए ।
‘धेरै दिनदेखि हामीले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै आएका छौँ । सभामुखज्यूले रुलिङ गरेर ल्याउन सक्नुभएको छैन । प्रधानमन्त्रीलाई ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गरेर सदनको गरिमा बढाइदिन अनुरोध गर्दछु । कि प्रधानमन्त्रीलाई ल्याउन रुलिङ गर्नुपर्यो कि आजको बैठकबाट मलाई निष्कासन गर्ने आदेश यहाँले दिनुपर्यो,’ उनले भने, ‘म आज रिसाउनेवाला छैन । कराउनेवाला पनि छैन । यहाँको मजबुरी बुझिराखेको छु मैले । यहाँको पनि बाध्यता छ । तर, सदनको गरिमा यसरी कायम हुन सक्दैन । म अलि बदमास विद्यार्थीजस्तो देखापरिरहेको छु । सबै जना हाँसिराख्नु भा'छ ।’
त्यसपछि सभामुख अर्यालले साम्पाङलाई बस्नका लागि आग्रह गरे । तर, साम्पाङ बसेनन् । ‘यो विषय मैले सभालाई जानकारी गराइसकेको छु । माननीय सदस्यले हलबाट कसलाई रुलिङ गर्ने कसलाई नगर्ने भनेर सभामुखलाई निर्देशन दिने प्राक्टिस छैन,’ सभामुख अर्यालले भने । सभामुखले रुलिङ नगरेपछि उनी झोला बोकेर आफैँ बैठक हलबाट बाहिरिएका थिए ।
साम्पाङ ५ जेठको बैठकबाट पनि बाहिरिएका थिए । सो दिन सभामुख अर्यालले बोल्ने समय नदिएपछि उनी बैठकबाट आफैँ बाहिरिएका थिए । उनले आकस्मिक समय माग गर्दै उभिइरहेका थिए ।
सभामुख अर्यालले न समय दिए, न माइक । तैपनि साम्पाङ बोलिरहेका थिए । उनले प्रधानमन्त्री वालेन्द्र शाह बालेन संसदमा उपस्थित भएर सांसदहरूका साथै समसामयिक विषयमा जवाफ दिनुपर्ने माग राख्दै आएका छन् । ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्यो भन्ने हिसाबले यहाँहरूले जे खेलिरहनुभएको छ, यो नियममुताबिक छैन । संसदको भावनामुताबिक छैन,’ सभामुख अर्यालले ५ जेठमा भनेका थिए ।
त्यसपछि साम्पाङले प्रतिपक्षलाई बोल्न पनि सीमित पारेको उनले आरोप लगाएका थिए । सो दिन उनले संसदको कुर्सी खाली रहेको विषय पनि उठाएका थिए । ‘यो कुर्सी खाली छ, आधा भन्दा बढी । यसरी अनुपस्थित हुने सांसदहरूलाई के कारबाही गर्नुपर्ने हो गरियोस्,’ उनले भने, ‘हामीचाहिँ दिनभर बसिराख्नुपर्ने अरुचाहिँ बस्नु नपर्ने । म पनि एउटा दलको नेता हुँ, यहाँ पूरै लाइन खाली छ, यहाँ नआउनुपर्ने रै'छ, जे–जे गर्ने हो गर्नुहोला, म पनि लागेँ ।’
त्यसपछि उनी संसद बैठक छोडेर हिँडे ।
३० वैशाखमा सरकारले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने कार्यसूची थियो । प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने भएपछि साम्पाङ रिसाएका थिए । उनले सो दिन प्रधानमन्त्री बालेनको राजीनामा मागेका थिए ।
‘प्रधानमन्त्री राजीनामा दे’, ‘असक्षम प्रधानमन्त्री राजीनामा दे । असक्षम प्रधानमन्त्री राजीनामा दे । यस्ता प्रधानमन्त्री चाहिँदैन,’ साम्पाङले भनेका थिए । साम्पाङले विधिबाट संसद चलाउनसमेत सभामुखलाई आग्रह गरेका थिए ।
संसद बहिष्कार गरेका साम्पाङ सामाजिक सञ्जालमा सक्रिय भएका थिए । ‘प्रधानमन्त्रीले संसदलाई बेवास्ता र अपमान गर्नु भनेको जनतालाई हेप्नु हो,’ साम्पाङले लेखेका थिए ।
उनले फेसबुकमै अर्को स्टाटस लेखेका थिए, ‘प्रधानमन्त्री नआई नीति तथा कार्यक्रममा के छलफल गर्नु ? कर्तव्य पूरा गर्न नसक्ने प्रधानमन्त्री असक्षम हो ।’
प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३
२१:१७
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
सभामुख डोलप्रसाद अर्याल
बालेन शाह
स्वर्णिम वाग्ले