समाज बुझ्ने माध्यम
nepalnews.com · Sat Jun 20 11:15:13 GMT 2026

नेपाली संगीतकर्मीहरूको सांगीतिक यात्राको सुरुआतबारे अनेकौँ फरक कथा भेटिन्छन्। कसैलाई संगीतकर्मी आफन्तबाट प्रेरणा मिलेको हुन्छ, कसैले परिवारबाट लुकीलुकी संगीत सिकेका हुन्छन्। सबैको यात्रा फरक हुन्छ। कोही अत्यन्त लोकप्रिय गायक बन्छन्, कसैले त्यही लोकप्रिय गायकलाई सिकाएका हुन्छन्, कसैले उनीहरूको गीत रेकर्ड गरेका हुन्छन्। मञ्चमा देखिने व्यक्ति मात्र संगीतकर्मी होइनन्। गायकहरू स्पटलाइटमा पर्छन्, तर वादकहरू, शिक्षक, रेकर्डिस्ट, वाद्यनिर्माता, अनुसन्धानकर्ता र व्यवस्थापकहरू प्रायः पर्दापछाडि नै रहन्छन्।
सानी हुँदा म पनि पारिवारिक भेटघाटमा ‘प्रतिभा’ देखाउने बालबालिकामध्ये पर्थें। मैले गीत गाउँदा आमाबुबा, हजुरआमा, काकाकाकीहरूको आँखाभरि आँसु आउँथ्यो। उहाँहरू रुँदै मलाई अंकमाल गर्नुहुन्थ्यो, र म आफूलाई असाध्यै राम्रो गाउने व्यक्ति ठान्थेँ। पढाइमा खासै उत्कृष्ट नभए पनि गीत गाउने भएकाले शिक्षकहरूले रुचाउनुहुन्थ्यो। ‘तपाईं त त्यो गीत गाउने नानीका आमाबुबा होइन’ भनेर चिन्ने मानिसहरूले सोध्दा उहाँहरू गर्वले फुल्नुहुन्थ्यो।
संयोगवश त्यसैताका हरेक बच्चाको आफ्नै क्षमता हुन्छ भन्ने सन्देश बोकेको फिल्म तारे जमीन पर पनि रिलिज भएको थियो। घरमा दिदीले मेरो भागको पढाइसमेत राम्ररी गरिदिनुभएको थियो, त्यसैले सायद आमाबुबाले पनि पढाइभन्दा संगीततर्फको मेरो रुचिलाई बढी महत्त्व दिनुभयो र सानै उमेरमा भोकल क्लासमा भर्ना गरिदिनुभयो।
कसैले ठूलो भएपछि के बन्छ्यौ भनेर सोध्दा गायिका भन्थेँ। त्यतिखेर आफू मञ्चमा उभिएर माइक्रोफोन समाती गीत गाइरहेको कल्पनामा मस्त रमाउँथेँ।
भोकल क्लासमा मैले आरोह-अवरोह, स्वर, केही राग तथा आधुनिक गीतहरू सिकेँ। त्यतिबेला नारायणगोपाल वा भक्तराज आचार्यका गीतहरू राम्रोसँग गाउने व्यक्तिलाई म असाध्यै राम्रो गायक ठान्थेँ। लोकगीत, पपगीत, रक, मेटल इत्यादि गीत गाउने र बजाउनेहरूलाई त्यति ध्यान दिन्नथेँ।
म पनि आधुनिक गीतका क्यासेट र सीडी सुन्दै हुर्किएँ, तिनै गीतहरू गाउँथेँ र प्रशंसा पाउँथेँ। कसैले ठूलो भएपछि के बन्छ्यौ भनेर सोध्दा गायिका भन्थेँ। त्यतिखेर आफू मञ्चमा उभिएर माइक्रोफोन समाती गीत गाइरहेको कल्पनामा मस्त रमाउँथेँ।
उच्च माध्यमिक तहमा पढ्दा मैले फजस्केप नामक युट्युब च्यानल भेट्टाएँ। त्यसका भिडिओमा संगीतकर्मी र फिल्ममेकरहरू मनाङ, भोजपुर, हेलम्बुलगायत विभिन्न ठाउँ पुगेर स्थानीय संगीतकर्मीसँग मिलेर संगीत बनाइरहेका हुन्थे। ती भिडिओ हेर्दा संगीत केवल मञ्चमा गाउने कुरा होइन रहेछ भन्ने आभास हुन थाल्यो। संगीतले मानिसलाई ठाउँ, समुदाय र यात्रासँग पनि जोड्न सक्दो रहेछ भन्ने लाग्यो। कुनै दिन आफू पनि यस्तै काम जोडिनेछु भन्ने सोच बनाएकी थिएँ।
संगीत मेरा लागि मनोरञ्जन र व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र थियो। यो समाज, इतिहास, भाषा र संस्कृतिसँग कसरी जोडिएको हुन्छ भन्नेबारे मैले खासै सोचेकै थिइनँ।
केही समयपछि मैले एउटा नाटक हेरेँ जसले मलाई यति धेरै प्रभावित गर्यो कि तुरुन्तै नाटकको कार्यशालामा सहभागी भएँ। त्यो उमेर नै यस्तो थियो, जुनसुकै कुराबाट प्रभावित भइहाल्ने। साँच्चै भन्दा आज पनि त्यस्तो बानी गएको छैन। मलाई सधैँ लागिरहन्छ, यो पनि गर्न पाए हुन्थ्यो, त्यो पनि गर्न पाए हुन्थ्यो।
संगीत मेरा लागि मनोरञ्जन र व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र थियो। खुसी हुँदा नाच्ने, दुःखी हुँदा रोएर मन हलुका गर्ने, मञ्चमा प्रस्तुत गर्ने एउटा कला। संगीत समाज, इतिहास, भाषा र संस्कृतिसँग कसरी जोडिएको हुन्छ भन्नेबारे मैले खासै सोचेकै थिइनँ।
नेपालका धेरै संगीतकर्मीले आफ्नो लगन, अभ्यास र अनुभवका भरमा संगीतलाई पेसा बनाएका छन्। यहाँ संगीत पढेर भविष्य बनाउने सम्भावना सीमित देखिने भएकाले धेरैले औपचारिक शिक्षाविना नै आफ्नो बाटो बनाएका छन्। कसैले छोटो तालिम लिएका छन्, कसैले साथीहरूसँग सिक्दै ब्यान्ड बनाएका छन्, कसैले आफ्नै अभ्यासबाट सीप विकास गरेका छन्। त्यसैले नेपालमा औपचारिक संगीत शिक्षाको चर्चा अझै अपेक्षाकृत कम सुनिन्छ।
कक्षा १२ सकिएपछि के पढ्ने भन्ने अन्योलका बीच मैले लोचन रिजालका अन्तर्वार्तामार्फत काठमाडौँ विश्वविद्यालयको संगीत विभागबारे थाहा पाएँ। प्रवेश परीक्षा उत्तीर्ण गरेपछि ओरिएन्टेसन क्लासमा शिक्षकहरूले भनेको एउटा कुरा अझै सम्झन्छु– यहाँ गाउनु, बाजा बजाउन सिक्नुभन्दा धेरै संगीतलाई समाज, संस्कृति र मान्छेको जीवनसँग जोडेर पढाइन्छ है।
संगीत भनेको केवल गाइने वा बजाइने वस्तु होइन, यो त मानिसहरूको कथा हो, इतिहास हो।
त्यो कुरा मलाई अनौठो लागेन। बरु आफूले खोजिरहेको विषय यही त हो जस्तो लाग्यो।
त्यसपछिका चार वर्षमा संगीतप्रतिको मेरो बुझाइ नै परिवर्तन भयो। नाटकघरमा काम गर्दै, विभिन्न समुदायका साथी भेट्दै र विश्वविद्यालयमा अध्ययन गर्दै जाँदा मैले संगीतलाई मनोरञ्जन वा व्यक्तिगत अभिव्यक्तिको माध्यमभन्दा धेरै ठूलो विषयका रूपमा बुझ्न थालेँ।
काठमाडौँ विश्वविद्यालयको संगीत विभागमा ‘एथ्नोम्युजिकोलोजी’ पढाइन्छ। सरल भाषामा भन्नुपर्दा, यसलाई सांस्कृतिक संगीतशास्त्र भन्न सकिन्छ। यस विषयले संगीतलाई ध्वनि वा कलाका रूपमा मात्र नभई मानिस र समाजसँगको सम्बन्धभित्र राखेर अध्ययन गर्छ। कुनै समुदायको संगीत किन त्यस्तो छ? भाषा र संगीतबीच कस्तो सम्बन्ध छ? प्रविधिले संगीतलाई कसरी परिवर्तन गरिरहेको छ? इतिहासमा संगीत कस्तो थियो? संगीतले पहिचान, स्मृति वा समुदाय निर्माणमा कस्तो भूमिका खेल्छ? यस्ता प्रश्नहरू एथ्नोम्युजिकोलोजीको केन्द्रमा पर्छन्।
हामीले आज सामान्य ठानेर गुनगुनाउने धुन, बालबालिकालाई सुताउँदा गाइने गीत, सोहर वा पर्वका गीत सबैको आफ्नै लामो इतिहास छ। ती इतिहासलाई पछ्याउँदै जाँदा संगीत केवल मनोरञ्जनको विषय रहँदैन, समाजलाई बुझ्ने माध्यम बन्छ।
संगीत विद्यालयमा भर्ना हुँदा म राम्रो गायिका बन्न चाहन्थेँ। तर, संगीतलाई केन्द्रमा राख्दा मेरा प्रश्नहरू फरक भएका छन्। कुनै संगीतकर्मी कुनै मञ्चमा उक्लँदा उसले कस्ता सामाजिक पहिचान बोकेको हुन्छ? उसको संगीत सुन्न आएका श्रोताहरू कस्ता परिवेशबाट आएका हुन्छन्? जुन मञ्चमा प्रस्तुति भइरहेको छ, त्यसको आफ्नै इतिहास के छ? त्यहाँ बज्ने वाद्ययन्त्रहरू नेपालमा कहिलेदेखि प्रयोग हुन थाले? प्रस्तुतीकरणमा प्रयोग हुने प्रविधि समयसँगै कसरी परिवर्तन भएको छ? यस्ता प्रश्नहरूले पनि मलाई उत्तिकै तान्छन्।
संगीत विद्यालयमा पढ्नुअघि म लोकगीत भनेको दोहोरी गीत मात्र हो भन्ने बुझ्थेँ। आफ्नो विशेष रुचि नभएकाले लोकगीतलाई खासै महत्त्व दिन्नथेँ। अहिले भने हजुरआमाले गुनगुनाउने भजन, जात्रामा बज्ने धिमे, तिहारमा गाइने भैलो, विवाहमा गाइने मंगलगीत, यी सबै लोकसंगीतका रूपहरू हुन् बुझेकी छु। आफूले नदेखेको, नसोचेको तर वरिपरि निरन्तर उपस्थित रहेको सांगीतिक संसार रहेछ त्यो।
संगीत पढ्दै जाँदा मैले अर्को कुरा पनि बुझेँ। संगीत केवल कलाकारको सिर्जना होइन, समुदायको पनि सम्पत्ति हो। हामीले सुन्ने धुन, गाउने गीत र अभ्यास गर्ने परम्परा कुनै एक व्यक्तिबाट सुरु भएको हुँदैन। तिनका पछाडि पुस्तौँको अनुभव, स्मृति र सांस्कृतिक आदानप्रदान लुकेको हुन्छ।
संगीत भनेको केवल गाइने वा बजाइने वस्तु होइन, यो त मानिसहरूको कथा हो, इतिहास हो। सेतुरामले सय वर्षभन्दा अघि रेकर्ड गराएको ‘राजमती कुमती’ गीतले हामीलाई त्यतिबेलाको रेकर्डिङ प्रविधि, सांगीतिक शैली र सांस्कृतिक परिवेशबारे जानकारी दिन्छ। गाउँ गाउँमा सारंगी बोकेर हिँड्दा गन्धर्वहरू गीत मात्र गाइरहेका हुँदैनथे, उनीहरू समाचार, इतिहास र कथाहरू पनि बोकेर हिँडिरहेका हुन्थे। हामी पर्वहरूमा सामूहिक रूपमा गीत गाउँछौँ, शोकका क्षणमा पनि संगीतको सहारा लिन्छौँ। संगीत हाम्रो जीवनका महत्त्वपूर्ण क्षणहरूसँग गाँसिएको हुन्छ।
भारतीय शास्त्रीय संगीतका उस्ताद बडे गुलाम अली खानले शास्त्रीय संगीतको जरा पनि लोकसंगीतमै रहेको बताएको प्रसंग धेरै पटक उद्धृत गरिन्छ। वास्तवमा हामीले आज सामान्य ठानेर गुनगुनाउने धुन, बालबालिकालाई सुताउँदा गाइने गीत, सोहर वा पर्वका गीत सबैको आफ्नै लामो इतिहास छ। ती इतिहासलाई पछ्याउँदै जाँदा संगीत केवल मनोरञ्जनको विषय रहँदैन, समाजलाई बुझ्ने माध्यम बन्छ। सायद यही नै संगीत विद्यालयमा प्रवेश गर्दाको म र आजको मबीचको सबैभन्दा ठूलो भिन्नता हो।
पहिले म संगीतलाई आफ्नो भावनाको अभिव्यक्तिका रूपमा मात्र हेर्थें। अहिले पनि संगीतले मलाई खुसी बनाउँछ, रुवाउँछ, प्रेरित गर्छ। तर, त्यससँगै संगीतले मलाई प्रश्न गर्न सिकाएको छ। समुदायहरू, इतिहास र संस्कृतिलाई हेर्ने नयाँ दृष्टिकोण दिएको छ। सबैभन्दा महत्त्वपूर्ण पक्ष, गीत-संगीतसँगै मानिसहरूलाई पनि सुन्नबुझ्न उत्प्रेरित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)