मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीप, प्रविधि र बजारसँग जोडिँदै मौरीपालन : हिमा गाउँपालिकाको पहलले जुम्लाका किसान उत्साहित

nagariknews.nagariknetwork.com · Sat Jun 20 11:12:14 GMT 2026

जुम्लामा मौरीपालनको उल्लेखनीय सम्भावना हुँदाहुँदै पनि प्राविधिक ज्ञान, आधुनिक व्यवस्थापन तथा रोग नियन्त्रणका चुनौती कायम रहेका बेला हिमा गाउँपालिकाले मौरीपालक किसानलाई व्यवसायिक क्षमता विकासतर्फ उन्मुख गराउने पहल थालेको छ। गाउँपालिकाले मौरी व्यवस्थापन तथा सीपमूलक तालिम सञ्चालन गर्दै किसानलाई उत्पादन, प्रशोधन र बजारीकरणसम्म जोड्ने प्रयास गरेको हो।

व्यवसायिक मौरीपालन प्रवर्द्धन, मह उत्पादन तथा गुणस्तर अभिवृद्धि र किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा ४२ जना किसान सहभागी भएका थिए। सहभागीमध्ये गाउँपालिकाका १ देखि ७ वडाका ७ जना महिला र ३५ जना पुरुष किसान थिए।

हिमा गाउँपालिकाको कृषि शाखाको आयोजनामा सम्पन्न तालिम नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको मौरी विकास केन्द्र, गोदावरी–ललितपुरको सहकार्य तथा आर्थिक वर्ष २०८२/०८३ को संघ सरकारबाट प्राप्त सशर्त अनुदान कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

तालिममा व्यवसायिक मौरीपालनका आधारभूत र उन्नत पक्ष, मह उत्पादन वृद्धि, मौरी व्यवस्थापन, रोग तथा जोखिम नियन्त्रण, मह प्रशोधन, लेबलिङ, प्याकेजिङ र बजारीकरणका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। गाउँपालिकाका अनुसार किसानको मागअनुसार मौरीपालनलाई जीविकोपार्जनसँग जोड्दै गुणस्तरीय मह उत्पादनमार्फत स्थायी आम्दानीको आधार तयार गर्ने लक्ष्य राखिएको छ।

स्थानीयका अनुसार हिमा गाउँपालिका मह उत्पादनका हिसाबले जिल्लाकै अग्रणी क्षेत्रमध्ये पर्छ। आगामी दिनमा वडास्तरमै मौरी पकेट क्षेत्र घोषणा गर्ने तयारीसमेत भइरहेको छ। अधिकांश किसानसँग दर्जनौँ मौरीघार छन् र उनीहरूलाई थप दक्ष तथा व्यवसायिक बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाको भनाइ छ।

आधारभूत तालिमका सहजीकरणकर्ता स्थानीय विकास रोकायाले गुणस्तरीय मह उत्पादनसँगै त्यसको मूल्य अभिवृद्धि गर्ने पक्षमा जोड दिइएको बताए। उनका अनुसार किसानलाई आत्मनिर्भर र व्यवसायिक बन्न आवश्यक सीप सिकाइएको छ।

तालिममा सहभागी किसानहरूले कार्यक्रमलाई व्यवहारिक र उपयोगी अनुभवका रूपमा लिएका छन्। उनीहरूका अनुसार मौरीपालनका प्राविधिक पक्षबारे नयाँ ज्ञान प्राप्त भएको छ, जसले उत्पादन र आम्दानी दुवै बढाउन मद्दत गर्ने विश्वास लिइएको छ।

हिमा–१ का किसान बिक्रम शाहीले प्रशोधन र व्यवस्थापनको सही अभ्यासमार्फत थप आम्दानी सम्भव हुने अनुभव सुनाए। उनले भने, “पहिले पर्याप्त ज्ञान नहुँदा सामान्य कुरामा ध्यान नदिँदा नोक्सान हुन्थ्यो। अब तालिमबाट सिकेका सीप व्यवहारमा उतार्नेछु।”

त्यस्तै, हिमा–४ का लडे बुढाले परम्परागत मौरीपालनलाई व्यवसायिक मोड दिन तालिम उपयोगी भएको बताए। अर्की सहभागी धिर शाहीले तालिमले मेहनत, लगाव र व्यवसायिक सोचको महत्व बुझाएको उल्लेख गर्दै आफूले सिकेका कुरा अरू किसानसँग पनि साझा गर्ने बताइन्।

तालिमपछि सहभागी प्रत्येक किसानलाई न्यूटन बी घार, अर्फोन, घुन्टी, धुवाधानी, रानी गेट, मह चक्कु, रानी केज, मैन पाता तथा फिडर फ्रेमलगायत सामग्री निःशुल्क वितरण गरिएको थियो।

जुम्लामा मुख्य रूपमा ‘सेराना’ जातको मौरी पालिने गरिन्छ। जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाका ६० वडामा मौरीपालन विस्तार भएको छ। यहाँ उत्पादन हुने मह काठमाडौं, नेपालगञ्ज, सुर्खेत, बुटवल, चितवन र पोखरासम्म पुग्ने गरेको किसानहरू बताउँछन्।

सहभागी किसानका अनुसार मौरीपालनबाट वार्षिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। चुनौती धेरै भए पनि सम्भावना अझ ठूलो रहेको उनीहरूको अनुभव छ।

सरकारी तथ्यांक उपलब्ध नभए पनि कर्णाली मौरीपालन सहकारीका अनुसार जुम्लामा हाल ८ हजार ४ सय मौरीघार छन्। वार्षिक करिब ५० हजार किलो मह उत्पादन हुने र प्रतिकिलो २ हजार ५ सय रुपैयाँका दरले बिक्री हुँदा जिल्लामा वार्षिक करिब १२ करोड रुपैयाँ भित्रिने अनुमान गरिएको छ।

स्थानीय तहगत विवरणअनुसार पातारासी गाउँपालिकामा १ हजार ६ सय, तिला गाउँपालिकामा १ हजार ५ सय, गुठीचौरमा १ हजार ४ सय, कनकासुन्दरीमा १ हजार २ सय, हिमामा ७ सय, चन्दननाथ नगरपालिकामा १ हजार तथा तातोपानी र सिँजा गाउँपालिकामा ५ सय–५ सय मौरीघार रहेका छन्।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले तालिमलाई किसानको व्यवसाय प्रवर्द्धन र आयआर्जन वृद्धिको आधारका रूपमा व्याख्या गरे। उनले भने, “तालिम भनेको बाटो देखाउने माध्यम हो। सिकेका कुरा व्यवहारमा लागू गर्ने जिम्मेवारी कृषककै हो।”

उनका अनुसार पछिल्ला वर्षमा मौरीपालनप्रति किसानको आकर्षण उल्लेखनीय रूपमा बढेको छ र अब गाउँपालिकाको प्राथमिकता मह उत्पादनसँगै गुणस्तर अभिवृद्धि गर्ने दिशामा केन्द्रित हुनेछ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय